प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पालो–पालो हुने भनिएकोमा ओलीले मानेनन्ः प्रचण्ड

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनले हासिल भएको संविधानलाई कालो धब्बा लगाउने प्रयास भएको बताएका छन् । आज आयोजित शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा नेतृत्वको सरकारले नै संविधानमाथि धब्बा लगाउने कार्य भएको आरोप लगाएका थिए । केपी ओलीको आफू तथा माधवकुमार नेपाललाई सिध्याउने रणनीति आफूले पार्टी एकता गरेको १ महिनामा नै थाहा पाएको उनले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले आफैंलाई महाराजाधिराज जस्तै मानेको उनको आरोप थियो । बैठकमा बस्न नखोज्ने र आफ्नो आलोचना सहन नसक्ने उनको आरोप थियो । ‘अहिले कताकता लाग्छ, केपी ओलीले आफूलाई महाराजाधिराज जस्तै माने जस्तै भएको छ ।’ उनले भने, ‘बैठकमा पनि बस्न नखोज्ने, आलोचना पनि सहन नसक्ने, यहीबाट थाहा हुन्छ, उनले आफूलाई महाराजाधिराज सोचेका छन् ।’

विगतमा शान्तिपूर्ण ढंगले समाजवादतर्फ जाने भन्दै पार्टी एकता गरेको बताउँदै प्रचण्डले अब ओलीसंग एकताको सम्भावना नभएको स्पष्ट पारेका छन् । विचार मिलेकाले विगतमा एकता भएको उनको दावी थियो । परिवर्तन ल्याउन तत्कालीन एमाले तथा माओवादीले भूमिका खेलेको उनले बताए । माओवादीको भने यस सम्बन्धमा मुलुकमा परिर्वतन ल्याउन धेरै महत्वपूर्ण भूमिका खेलेको उनले दावी गरेका छन् ।

एकतापश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पालैपालो हुने भनिएकोमा उक्त निर्णय नमानेको उनले आरोप लगाएका छन् । ‘पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री पनि पालो–पालो हुने भनेर केपी ओलीले पहिले हस्ताक्षर गरेका हुन् ।’ उनले भने, ‘त्यसको प्रमाण छन्, केपी ओली र प्रचण्डले हस्ताक्षर गरेका प्रमाण अझै छन् ।’

पालैपालो अध्यक्ष तथा प्रधानमन्त्री हुने निर्णयलाई ओलीले लागू नगरेको उनले आरोप लगाएका छन् । ‘उनी श्री ३ महाराजाधिराज जस्तै भएका छन् ।’ उनले भने, ‘केपी ओली, जसले जबज छोड्ने पहिलो व्यक्ति हुन् ।’

कमेन्टहरु
Loading...