रुपा गाउँपालिकाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने

राजु गिरी, पोखरा । 

कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । जसमा अध्यक्ष कप भलिबल प्रतियोगिता, रुपा गाउँपालिका स्तरिय झाँकी प्रदर्शन प्रतियोगिता, विभिन्न प्रजातिका फूल तथा दुबोको माला प्रतियोगिता, स्रस्टा सम्मानलगाएत साँस्कृतिक कार्यक्रम गरिने भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

रुपा गाउँपालिकाले अहिलेको अवस्थासम्म आइपुग्दा उल्लेख्य कार्यहरु गरेको गाउँपालिकाका अध्यक्ष नबराज ओझाले पत्रकार सम्मेलनमा बताए । युवा तथा खेलकुदको विकासका लागि हरेक वडामा खेलकुद मैदान, गाउँपालिका स्तरिय कवर्डहल, प्यारापिटसहितको स्टेडियमलगाएको निर्माणका लागि प्रदेश र केन्द्रीय सरकारसँगको समन्वयमा निर्माण कार्य भैरहेको अध्यक्ष ओझाले जानकारी दिए ।

साथै गाउँपालिकाले दिगो विकासका लक्ष्यहरु प्रति ध्यान दिँदै रुपाको पहिचान, सबै क्षेत्रमा समृद्धिको अभियान भन्ने नाराका साथ पर्यटन विकास, खानेपानी, शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधार, सडक, सिँचाई, कृषि, पशुपालन र रोजगारीलगाएतका क्षेत्रहरुमा उल्लेख्य कार्यहरु गरेको उनले सुनाए ।

स्थानीय तहले हरेक कार्यक्रमको अपनत्व लिन पाउनुपर्ने र जस–अपजस, भागिदार स्थानीय तहनै हुनुपर्ने उनको भनाई छ । उनले भने –‘स्थानीय तहले हरेक कार्यक्रमको अपनत्व लिन पाउनुपर्छ, त्यसको अनुगमन हुनुपर्छ, त्यसलाई सच्चाउने अधिकार पनि स्थानीय तहलाई नै हुनुपर्छ । त्यहाँ भएका राम्रा, नराम्रा कामका जस–अपजस र त्यसको प्रत्यक्ष भागिदार स्थानीय तहनै हुनुपर्छ ।’

जनतासँग जाने र जनतासँग प्रत्यक्ष ठोकिने कार्यहरु नियमित भएकाले रुपा गाउँपालिका विकास निर्माणमा सफल भएको अध्यक्ष ओझाले दावी गरे ।

कमेन्टहरु
Loading...