काठमाडौं । सर्वोच्च अदालतले केही दिन अगाडि प्रतिनिधिसभा विघटनलाई बदर गरिसकेको छ ।
सर्वोच्चको यो निर्णयसंगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रधानमन्त्री समेत रहेका कपी शर्मा ओली पक्ष तथा प्रचण्ड–नेपाल पक्ष यतिबेला नयाँ सरकार गठनका लागि सक्रिय हुन थालेका छन् ।
बधबार नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटघाट गरे । सभापति देउवालाई भेट्न अध्यक्षद्वय प्रचण्ड तथा नेपाल उनकै निवासमा पुगेका थिए । स्रोतका अनुसार नेकपा प्रचण्ड–नेपाल पक्षले कांग्रेस सभापति देउवालाई प्रस्ताव गरेका थिए ।
प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वयलाई सभापति देउवाले उक्त प्रस्तावका विषयमा पार्टीका अन्य नेताहरुसंग छलफल गरेर जवाफ दिने बताएका छन् । प्रचण्ड–नेपाल समुहले जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसंग समेत नयाँ सरकार गठनका विषयमा छलफल गरेका थिए । प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्नेमा जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस लगायतका दलहरु समेत रहेका छन् ।
प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसंगै प्रधानमन्त्री ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको खण्डमा प्रतिनिधिसभा बैठकमा अविश्वासको प्रस्ताव ल्याउने विषयमा
समेत दलहरुबीच छलफल भइरहेको छ । यता प्रधानमन्त्री ओलीका सहयोगीहरुले भने ओलीले राजीनामा नदिने बताउँदै आएका छन् । आवश्यक परेको खण्डमा प्रधानमन्त्री ओलीले संसदमा आवश्यक प्रक्रिया फेस गर्ने उनीहरुको भनाई रहेको छ । ओली पक्षका नेताहरुको यो भनाई अनुसार प्रधानमन्त्री ओली आफ्नो नेतृत्वको सरकार जोगाउन विभिन्न भूमिका निर्वाह गरिरहेको बुझ्न सकिन्छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपासंग हाल १ सय ७४ जना सांसद रहेका छन् । सरकार बनाउनका लागि १ सय ३८ जना सांसदको समर्थन आवश्यक रहेको हुन्छ । तर नेकपा विभिन्न गुटमा विभाजित भएका छन् ।
ओली तथा प्रचण्ड–नेपाल फरक–फरक गुटका आधारमा विभाजित बनेसंगै ओली पक्षलाई आफू नेतृत्वको सरकार जोगाउन तथा प्रचण्ड–नेपाल पक्षलाई ओली नेतृत्वको सरकार ढाल्नका लागि अन्य दलको सहयोग लिनुपर्ने बाध्यता रहेको छ । प्रतिनिधिसभामा नेकपा ओली पक्षले ८४ तथा प्रचण्ड–नेपाल पक्षले आफूहरुसंग ९० जना सांसद रहेको दावी गरिरहेको छ ।
सरकार निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली तथा प्रचण्ड–नेपाल समुहलाई नै जनता समाजवादी पार्टी नेपाल तथा नेपाली कांग्रेसको साथ लिनैपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।