संसद्मा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ: निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्भित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका नाममा स्थानीय वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको नवनिर्मित भवन शिलान्यास तथा शालिक अनावरण कार्यक्रममा आज उनले लोकतन्त्र, संविधान र जनताका पक्षमा कांग्रेसले संसद्मा भूमिका खेल्ने बताए।

“अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका दुवै पक्षले सरकार बनाउन कांग्रेसको साथ, सहयोग खोजिरहेको छ, कांग्रेसले संसद्बाटै उचित निर्णय लिन्छ”, उनले भने । उनलेविश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायणका नाममा स्थापना भएका अस्पताललाई जोडेर विश्वविद्यालय निर्माण गर्न सुझावसमेत दिए।

कांग्रेस सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले शान्ति र अहिंसाबाट भएको परिवर्तन दिगो हुने धारणा राख्ने निधि सादा जीवन उच्च विचारका व्यक्ति भएको बताए। कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउने गरी काम गर्न र आफ्नो सेवालाई देशव्यापी बनाउन अस्पताललाई सुझाव दिए ।

पं दीनबन्धु पोखरेलले राजनीतिमा सेवाको भावनालाई जोड्ने निधि गान्धीवादी नेता भएको उल्लेख गरे। उक्त भवन निर्माणका लागि लगाइएको महायज्ञमा पण्डित पोखरेलले भागवत् पाठ गरेका थिए ।

कमेन्टहरु
Loading...