काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगलाई सुनको जलहरीले ढाकिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगलाई सुनको जलहरीलाई ढाकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसअघि ढाकिएको जलहरिको चाँदी ठाउँठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको थियो । तर पशुपति क्षेत्र विकास कोषले चाँदीको ठाउँमा सुनले ढाक्ने निर्णय गरेको हो ।
कोषका अनुसार जलहरिको लागि १०८ केजी सुन लाग्ने अनुमान छ । बसाहा र छानामा समेत गर्दा १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो ।
तर शास्त्रीय मान्यता एवं परम्परा अनुसार सुन लक्ष्मीको प्रतीक भएकाले शिवलिंगको जलहरिमा सुनको साटो चाँदी राख्ने चलन छ । यो परम्परा विपरीत सुनको जलहरि राख्न लागेको भन्दै स्थानीय एवं सम्पदाप्रेमीहरुले यसको विरोध गरिरहेका छन् । सुनको जलहरि राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन समेत दायर भएको छ ।