चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । सभालाई सम्बोधन नगरी उनीहरु बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन् ।
बुधबार चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न मंगलवार नै चितवन आएका बेला सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि उनीहरुले विरोध सभालाई विजयसभा बनाउने बताएका थिए ।
नेकपा चितवनले काठमाडौं पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले प्रचण्ड र नेपाल चितवनको सभालाई सम्वोधन नगरी फर्किएको जनाएको छ । प्रचण्ड र नेपालको अनुपस्थितिमा चितवनको सभालाई पूर्वमन्त्री सुरेन्द्र पाण्डेलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।