पोखरा । ‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ फागनु १७ देखि २६ गते सम्म सुपर जेनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिग–२०२१ हुने भएको छ । के.एन स्पोर्टस् प्रालिको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतियोगितामा चितवन क्रिकेट टिम, सुपर जेनरल पोखरा–११, प्यालिगन्स तनहुँ, बागलुङ क्रिकेट क्लव, स्याङ्जा क्रिकेट क्लव, बालुवाटार क्रिकेट क्लव काठमाण्डौ, मिक्समाण्डु क्लव काठमाण्डौ र स्टन एकेडेमी चितवन गरि ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कमल थापाले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार सहित ट्रफि मेडल सर्टिफिकेट तथा द्वितिय टिमलाई ट्रफि मेडल प्रमाण पत्र पुरस्कार प्रदान गर्नेछन् । त्यसैगरि विधागत खेलाडीहरु सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट व्याट्स्म्यानलाई छुट्टाछुट्टै रुपमा आकर्षक पुरस्कार प्रदान गरिने र हरेक खेलमा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले प्रतियोगितालाई सफल पार्न नेपाल क्रिकेट संघको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
फोटो : गौरभ त्रिपाठी