‘३० वर्षमा नभएका काम यो सरकारले तीन वर्षमा गरेको छ’

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले दुई सहायक सडकको कालोपत्र गर्ने कार्यको आज शिलान्यास गरेकी छन् ।

मन्त्री अर्यालले वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक र गल्याङ, पेलाकोट, पिडीखोला, सेतीवेणी सडकको कालोपत्र गर्ने कार्य शिलान्यास गरेकी हुन्।

सिद्धार्थ राजमार्गसँग जोडिएका एक दर्जन सहायक भित्री सडकहरूको कालोपत्र गर्ने अभियानअन्तर्गत यहाँका आधा दर्जन सडक कालोपत्र भइसकेको मन्त्री अर्यालले बताइन् ।

सडक कालोपत्र गर्ने कार्यको शिलान्यास गर्दै मन्त्री अर्यालले विगत ३० वर्षमा हुँन नसकेको काम वर्तमान सरकारले गरेको बइन् । मन्त्री अर्यालले भनिन्, “सरकारले ऐतिहासिक काम गरेको छ । विगत ३० वर्षमा नभएका काम यो सरकारले तीन वर्षमा गरेको छ ।”

“लिम्पियाधुरा लिपुलेकसहित नक्सा जारी गर्नेदेखि सुरुङमार्ग, रेल, पानी जहाज, सडक चौडा, सगरमाथाको उचाइ नाप्ने, युवालाई कृषिमा आकर्षित गर्नेदेखि युवालाई सर्टिफिकेट धितो राखेर ऋण दिने काम सरकारले गरेको छ”, मन्त्री अर्यालको भनाइ थियो ।

मन्त्री अर्यालले उच्चस्तरीय आर्थिक वृद्धि सरकारको अबको लक्ष्य भएको बताइन्। एक फरक प्रसङ्गमा मन्त्री अर्यालले नेकपामा अहिले देखिएको समस्या कुनै नौलो कुरा नभई इतिहासको पुनरावृत्ति भएको बताइन् ।

कमेन्टहरु
Loading...