पर्वत फलेवासको तस्बिर प्रकरणः नगर प्रमुख भन्छन्ः अतिरञ्जित गरियो

गन्थन डेस्क

पर्वत फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणि शर्माले मृतकलाई मुट्ठी उचालेर अभिवादन शैलीमा समवेदना व्यक्त गरेको तस्बिरले चर्चा पाएको छ ।

एक मृतकलाई दाहसंस्कार गर्न नदी किनारमा राखिएकाबेला प्रमुख शर्माले मुट्ठी कसेर श्रद्धाञ्जली दिएको तस्बिर सामाजिक सञ्जालमा आएपछि उनले ‘अतिरञ्जित’ गरिएको गन्थनलाई बताए । स्थानीय व्यक्तिको मृत्युपछि उनलाई श्रद्धाञ्जली दिन घाटमा गएको उनले सुनाए ।

‘स्थानीयवासीको दुखमा परिवारजनलाई समवेदना दिन घाट गए’ प्रमुख शर्मा भन्छन् ‘मलामीमध्ये कसैले तस्बिर खिचेर सामाजिक सञ्जालमा राखिदिएछन् ।’ अहिलेको राजनीतिक तरल अवस्थामा स्वार्थ सिद्ध गर्न चाहनेले तस्बिरको प्रयोग गरेकोमा शर्माले दुख व्यक्त गरे ।

मृतक स्थानीयसँगै पार्टीको कार्यकर्तासमेत भएको उनले बताए । ‘साथीहरुले कुन सन्दर्भमा खिच्नुभयो, किन त्यस्तो गर्नुभयो बुझ्न सकिन’ उनले उल्लेख गरे । मृत्युजस्तो संवेदनशील विषयमा र दुखको घडिमा नकारात्मक सन्देश दिने उद्धेश्यले तस्बिर प्रयोग भएकोमा उनले दुखेसो पोखे ।

नगर प्रमुख शर्मा पूर्व नेकपा एमालेबाट निर्वाचित हुन् । उनी हाल नेकपा प्रचण्ड–नेपाल पक्षमा रहेका छन् ।

कमेन्टहरु
Loading...