दिपक के श्रेष्ठ
मुलुक गणतन्त्रमा प्रवेश गरेपछि यसका मानकहरुलाई पच्छ्याउँदा राष्ट्रपति राष्ट्रप्रमुखको हैसियतमा रहेकी छिन् । जनताको छोरी मुलुकको सर्वाेच्च पदमा आशीन भएपछि यसका प्रभावहरु दीनदुखीको टहरोमा पनि पुग्नु पर्ने हो । विश्वमै अब्बल मानिएको र ६ दशकदेखि नेपालीले चाहेको राजमा सर्वसाधारणको हैसियत भने झनै ओरालिएको छ । विशेष पर्व, अवसर होस् वा कुनै समारोह, राष्ट्रपति शीतल निवासबाट बाहिँरिदा सडक अस्तव्यस्त हुने गरेको छ ।
यस्तै दृश्य मंगलबार राजधानीमा पुनः दोहोरियो । राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीको अवसरमार निवासबाट बाहिरिएर वसन्तपुर आउँदा राजधानीवासीले खेप्नु सास्ती खेपे । राष्ट्रपतिको कारगेड र अंगरक्षकको बुलेटसहितको लस्करलाई सडक खाली गर्दा सर्वसाधारणहरु निरीह भई आ–आफ्ना सवारीसाधनलाई जहाँको त्यही ब्रेक लगाउन विवश भए । देख्दा फराकिला तर सवारीसाधनको चापमा साँघुरिएको राजधानीको सडक एक स्थानमा केही मिनेट जाममा पर्दा पुरै ट्राफिक व्यवस्था अस्तव्यस्त भयो ।
सडक गतिरोध भयो । कारगेडको रुट पुरै खाली भयो । सामाजिक सञ्जालमा ‘मौसुफको सवारी’ भन्दै असन्तोष पोखियो । यसबीच दमकल वा एम्बुलेन्सजस्ता सवारीसाधनलाई गन्तव्यमा पुग्न हम्मेहम्मे पर्ने अवस्था थियो । हिजो राजाको सवारीलाई व्यवस्थित गर्न जुट्ने ट्राफिक प्रहरी आज राष्ट्रपतिको सवारी व्यवस्थापन गर्न खटेको छ । नयाँ तन्त्रमा जनताको छोरीको तुजुकले पुरानै कालखण्डको झझल्को दिएको छ ।
सडकनै खाली गर्नुपर्ने अवस्था सुरक्षा वा शान के का लागि ? भन्ने प्रश्न नागरिकस्तरबाट उठ्न थालेको छ । राष्ट्रपतिको सवारी व्यवस्थापनमा छोटो, छिटो र छरितो व्यवस्थापन गर्न ट्राफिक प्रहरी सक्षम छैन वा महारानी शैलीकै सवारीलाई निरन्तरता दिन खोजिएको जवाफ चाहिएको छ । आखिर राष्ट्रपतिलाई को सँग डर छ ? जसकारण यतिबिघ्न सुरक्षाकर्मीको आवश्यकता चाहियो । खर्च र आडम्बरको हिसाब गर्दा जनतालेमात्र हैन सरकारले पनि ‘घाँटी हेरेर हाड निल्ने’ काइदा अपनाउनु पर्छ ।