सूर्य चिह्न नपाए प्रधानमन्त्रीले निर्वाचन स्थगित गर्न सक्छन्ः कांग्रेस सभापति देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको कडा आलाचना गरेका छन् । आज बुटवलमा प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले आयोजना गरेको विरोध कार्यक्रममा आफ्नो धारणा राख्दै सभापति देउवाले आयोगले नेकपाको वैधानिकताका विषयमा निर्णय दिन नसकेको भन्दै विरोध गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद हालसम्म पनि मिलाउने कोसिस नगरेकाले निर्वाचन आयोगले निर्वाचन गराउन नचाहेको हो कि भन्ने आशंका उत्पन्न भएको पार्टी सभापति देउवाको भनाई थियो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अहिले नै यही गर्नुपर्छ भन्ने अवस्था नभएको उनले बताए । कांग्रेसमा समेत विभिन्न नेताको फरक–फरक मत आएको भन्दै उनले अदालतको निर्णय पर्खनु नै उचित हुने बताएका छन् । कांग्रेसलाई सर्वोच्च अदालतले निर्वाचन हुन्छ या फेरी प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भनको अवस्थामा दुवै निर्णय ठीक हुने उनको भनाई छ ।

प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र नै निर्वाचन हुनुपर्ने व्यवस्था भएपनि निर्वाचन आयोगले सो व्यवस्थालाई वेवास्ता गरेको उनले आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा निर्वाचन सम्पन्न गराउँछु भनिरहेको अवस्थामा समेत निर्वाचन आयोगले नभनेको बताउँदै सभापति देउवाले नेकपाको वैधाकिताका विषयमा बोल्न नखोज्नुले शंका उत्पन्न गराएको बताए ।

निर्वाचनको तयारीका लागि सर्वोच्च अदालतको निर्णय कुर्न नपर्ने अब आयोगले ६ महिनाभित्रै निर्वाचन गराउँछौं भन्नुपर्नेमा सभापति देउवाको जोड रहेको थियो । सूर्य चिन्ह एउटै रहेको र नेकपा ओली या प्रचण्ड–नेपाल कुन समुहलाई दिने भन्ने बारेमा छिटो निर्णय दिन समेत देउवाले निर्वाचन आयोगसंग माग गरेका छन् । चुनाव चिन्ह आफूले नपाएको अवस्थामा प्रधानमन्त्री ओलीले निर्वाचन हुन नदिने अवस्था सिर्जना गर्ने समेत उनले विरोध कार्यक्रममा आशंका व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...