काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहका नेता तथा नेपाली कांग्रेसले कर्णाली प्रदेशले तेस्रो वार्षिकउत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमलाई अघोषित रुपमा बहिस्कार गरेका छन् ।
त्यस्तै राप्रपाकी सांसद समेत कार्यक्रममा सहभागी नभएको बताइएको छ ।
उक्त प्रदेशमा ओली समुहका सांसद गुलाबजंग शाहले प्रदेशको वार्षिकउत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रमका विषयमा आफूलाई जानकारी नभएको र काम विशेषले निर्वाचन क्षेत्रमा भएकाले सहभागी नभएको प्रतिक्रिया दिएका छन् । प्रदेश सरकारले क–कस्ता कामहरु गर्छन् भन्ने विषयमा आफूहरुलाई जानकारी नदिने भन्दै नेता शाहले त्यसैले पनि कार्यक्रममा सहभागी नभएको बताएका छन् ।
यता नेपाली कांग्रेस दलका नेता जीवनबहादुर शाहीले कार्यक्रमका विषयमा ढिलो जानकारी आएको र हाल काम विशेषले काठमाडौंमा भएकाले सहभागी नभएको प्रतिक्रिया दिएका छन् । पार्टीका अन्य नेता पनि विशेष कारणले गर्दा बाहिर रहेको र हिंजो साँझमात्र जानकारीमा आएकाले सहभागी हुन नसकेको उनको भनाई रहेको छ ।
यस अगाडि प्रदेश १ ले वार्षिकउत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुह तथा नेपाली कांग्रेसले अघोषित रुपमा बहिस्कार गरेका थिए । सरकारको वैधता सकिएकाले कार्यक्रममा सहभागी नभएको प्रचण्ड–नेपाल समुहका नेताहरुले प्रतिक्रिया दिएका थिए । त्यस्तै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले पार्टीको आफ्नै कार्यक्रम भएकाले सहभागी नभएको बताएका छन् । प्रदेश सरकार संसद छल्न लागेकाले पनि सहभागी नभएको उनको भनाई छ । कांग्रेसकै प्रदेश सांसद बिन्दिया कार्की भने वाषिर्कउत्सवका अवसरमा प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् ।