पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई अस्थिरतातर्फ लैजाने या फेरी स्थायित्वतर्फ लैजाने भन्ने २ वटा विकल्पमात्र रहेको बताएका छन् । आज आफ्नो नेतृत्वको सरकार बनेको ३ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई आफ्नै केही सहकर्मीहरुले काम गर्न नदिने, महाअभियोग लगाउन खोज्ने तथा राजनीतिक अस्थिरता ल्याउने चलखेल सुरु भएपनि आफ्नो विकल्पका रुपमा प्रतिनिधिसभा विघटन गर्नुभन्दा अर्को विकल्प नभएको उनले दावी गरेका हुन् । ‘काम गर्नै नदिइने अवस्था सिर्जना भएपनि अब जनतामाझ जानै पर्छ भन्ने निर्णयमा म पुगें र नयाँ कदम चाले, प्रतिनिधिसभा विघटन भयो ।’ उनले भने ।
प्रतिनिधिसभा विघटन असंवैधानिक र गैरजिम्मेवारपूर्ण निर्णय लिइएको भन्दै आफूलाई आपत्तिजनक आरोप लगाइएको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘निर्वाचन प्रतिगमन हो, निर्वाचनले बहुमतीय, लोकतन्त्र, गणतन्त्रको विनास हुन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘जनादेशका लागि जनताका बीचमा जाँदा प्रतिगमन हुन्छ भने, डेढ २ वर्षमा फेरी निर्वाचन हुन्छ, अनि त्यसलाई पनि प्रतिगमन भन्ने ? उहाँहरु केलाई प्रतिगमन भन्नुहन्छ ?’ आफूले चुनाव गराउँदिन र सधैं शासनमा बस्दिन नभनेको उनले बताएका छन् । जनताको माझमा गएर काम गर्छौं भन्नु प्रतिगमन तथा लोकतन्त्र र गणतन्त्र विरोधी नभएको उनको भनाई छ ।
सम्पूर्ण राज्य शक्ति नै जनता भएको भन्दै प्रधानमन्त्री ओलीले जनताको बीचमा जानु अलोकतान्त्रिक नभएको बताएका छन् । ‘म शासन गरेर सधैं सत्तामा बस्छु भनेको अवस्थामा पो प्रतिगमन हुन्छ, निर्वाचनमार्फत् जनतालाई फैसलाका लागि अनुरोध गर्दा अलोकतान्त्रिक कसरी हुुन्छ, विरोध गर्नेले बताइदिनुप¥यो ।’ उनले भने । केही व्यक्ति जस्केलाबाट छिरेर प्रधानमन्त्री बनेको र फेरी त्यसरी नै जस्केलाबाट छिरेर सत्तामा पुग्न चाहेको उनको आरोप रहेको थियो । ‘केही व्यक्तिहरु जस्केलाबाट छिरेर प्रधानमन्त्री बनेका थिए, फेरी त्यही इतिहास दोहो¥याउन चाहेका थिए ।’ उनले भने, ‘त्यो इतिहासलाई रोक्नु आवश्यक थियो ।’ पराजित भइसकेपछि पनि सोही स्थान चाहियो भन्दै विभिन्न अवाञ्छित व्यवहार, गुटबन्दी गर्ने, समीकरण गर्ने लगायतका कार्य उचित नहुने उनको भनाई छ ।
आफूले पदका लागि प्रतिनिधिसभा विघटन नगरेको उनले दावी गरे । प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक तथा अलोकतान्त्रिक कदम नभएको उनले बताए । ‘पद प्राप्तिका लागि अवाञ्छित व्यवहार होइन, यो प्रणाली रक्षाका लागि जरुरी कदम हो ।’ उनले भने । लोकतान्त्रिक विधिमार्फत् चल्नु लोकतन्त्रको प्रक्रिया भएको उनले बताए । निर्वाचनले मुलुकलाई विभाजित नगराउने उनको दावी थियो । प्रतिनिधिसभाको विघटन र ताजा जनादेशमा जानु भनेको पार्टीलाई पनि एकजुट बनाउनु भएको उनले बताए ।
अनुपयुक्त तरिकाले समानान्तर ढंगले सत्ता सञ्चालनको अभ्यास सुरु गरिएको प्रधानमन्त्री ओलीले आरोप लगाएका छन् । छलफलका नाममा लामो समयसम्म सरकारले ल्याएका विधयेकलाई अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुन नदिने र विभिन्न बाहनामा समितिमा अड्काउने गरेकाले नै प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको दावी थियो ।
आफ्नो नेतृत्वमा गठन भएको सरकारलाई सुरुदेखि नै विभिन्न बाधा तथा व्यवधान उत्पन्न गराएर अफ्ठ्यारो परिस्थिति सिर्जना गरिएको भएपनि १ वर्षदेखि गठबन्धनबाट बनेको सरकारको जस्तो समस्या भोग्नुपरेको उनको भनाई रहेको छ ।