पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९ खेल पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिका बीचमा आइतबार पोखरामा सम्झौता भएको हो । बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि यसअघि राजधानी गएर सम्झौता गर्नुपर्नेमा यसपटक सम्बन्धित प्रदेशमै निर्माण सम्झौता कार्यक्रम गरिएकाले उपभोक्ता समितिलाई सहज भएको राखेपले जनाएको छ ।
कास्कीसहित पर्वत, लमजुङ, तनहुँ, म्याग्दी, गोर्खालगायतका जिल्लामा नौवटा पूर्वाधार निर्माणका लागि स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको सम्झौता गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिएका छन् । पोखराको ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ६३ हजार ८६ लागत अनुमान रहेकामा बाँकी रकम समितिले व्यहोनुपर्ने सम्झौतामा उल्लेख छ ।
लमजुङको राइनास नगरपालिका–६ स्थित गौलीटार रंगशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । सो रंगशालाको लागत अनुमान ५५ लाख ९२ हजार १ सय ६१ छ । लमजुङ कभर्डहल निर्माणका लागि १० लाख, म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख, तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख, म्याग्दीको रत्नेचौर बहुउद्देश्यीय खेल मैदानका लागि १० लाख, बागलुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि रु १० लाख र गोरखा रंगशाला स्तरोन्नतिमा १० लाख उपलब्ध गराउने गरी सम्झौता गरिएको छ । सम्झौतामा सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम आगामी २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरी सक्नुपर्ने छ । सम्झौता कार्यक्रमका अवसरमा राखेप सदस्यद्वय राजेशकुमार गुरुङ र रेनुका श्रेष्ठ, विभागीय प्रमुखद्वय कुलबहादुर थापा र अर्जुन विक सहभागी थिए ।
खेलकुद अभिमुखीकरण सुरु
राखेपको आयोजनामा गण्डकी प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम आइतबारदेखि पोखरामा सुरु भएको छ । कार्यक्रममा वाग्मती प्रदेशका विभिन्न जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, भेट्रान खेलाडी र स्थानीय खेल संघका प्रतिनिधि गरी १ सय ४९ को सहभागिता थियो ।
कार्यक्रममा सदस्यसचिव सिलवालले गण्डकी प्रदेशलाई खेलकुद पर्यटनको शहरका रूपमा विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माणमा लगानी वृद्धि गरिएको बताए । कार्यक्रमको पहिलो दिन सदस्यसचिव सिलवालले खेलकुद व्यवस्थापन, डा ज्ञानेन्द्रविक्रम शाहले ‘स्पोर्ट्स मेडिसिन’, सागमा कराँतेतर्फ स्वर्णधारी सुलोचना सिजख्वाले खेल मनोविज्ञान, रमन नेपालीले खेल उत्प्रेरणा, राजेन्द्ररत्न तुलाधरले ‘फिटनेस’ र र सकुना देनीले ‘मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स’ बारे जानकारी गराएका थिए । राखेपले यसअघि देशका अन्य ६ प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । कार्यक्रम आज समापन हुनेछ । रासस