विश्वराज रसाइलीको मुक्तकसंग्रह शुभ–दृष्टि लोकार्पण

पोखरा । कवि, गीतकार एवं मुक्तककार विश्वराज रसाइलीको कोरोना कहरमा रचना गरिएको मुक्तक संग्रह शुभ–दृष्टि लोकार्पण भएको छ । नेपाली संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले मुक्तक संग्रह शुभ–दृष्टि लोकार्पण गर्दै पोखरा साहित्यिक राजधानीसँगै मुक्तकको सहर भएको बताए । वि.सं. २०३५ सालदेखि टिकट काटेर मुक्तक सुन्ने परम्परा पोखरेली युवा साँस्कृतिक परिवारले सुरु गरेको स्मरण गर्दै २ दशकदेखि साधानारत विश्वराज रसाइलीका मुक्तकले पोखरालाई अझै सुन्दर बनाउने धारणा राखे ।

सञ्चारकर्मी सुरेश रानाभाटले शुभ–दृष्टिको समीक्षा गर्दै विश्वराजले विश्वपीडालाई लिपिवद्ध गरेको जनाए । कोरोनाकालीन बेसोमती राजनीतिक गतिविधि, विकृति, विसङ्गति, बेथिति, भ्रष्टाचार, जातीय विभेद, छुवाछुत, महिला हिंशा, बलात्कार, हत्या र सामाजिक असमानताका विरुद्ध कलम मार्फत् विद्रोहको झण्डा उठाएका मुक्तकहरूले समसामयिक यथार्थको चित्र उतारेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको बन्दाबन्दी र त्यसबाट उत्पन्न जनजीवनको समस्यालाई रसाइलीले १ सय १ मुक्तक मार्फत् अभिव्यक्ति दिएका छन् । मुक्तककार रसाइलीको परिचय लालबहादुर परियारले राखेका थिए ।

प्रकाशक ज्योतिन्द्र घिमिरे ज्योति, गजलकार दीपक समीप, नारायण नेपाली, विष्णु अल्पविराम, अर्जुनरत्न भिकारी लगायतले विश्वराजको सिर्जनकर्मको प्रशंसा गर्दै आगामी दिनमा सिर्जनशील निरन्तरतासहित अन्य कृतिहरू प्रकाशनका लागि शुभकामना दिएका थिए ।

रसाइलीका यसअघि शुभ–विवाह मुक्तकसंग्रह २०५५, शुभ–कामना कविता संग्रह २०७५ कृति प्रकाशन भइसकेका छन् । कहाँ बिसाऊँ मनको भारी गीतिसंग्रह, आफ्नै माटो आफ्नै भाग्य नाटकसंग्रह, दलनका चीत्कार मुक्तकसंग्रह, फूलबारीका अछुत फूलहरू कविता संग्रह, अपमानको आगो गजल संग्रह प्रकाशनको पर्खाइमा छन् ।

लेखनाथ साहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रम अध्यक्ष पद्मराज ढकालको सभापतित्वमा भएको थियो ।

कलाकार सविना सुनामले स्वागत मन्तव्य राखेकी थिइन् भने उपाध्यक्ष छवि सुवेदी विजयीले धन्यवाद ज्ञापन र सञ्चारकर्मी आरजू विष्ट सल्यानीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...