नेकपा फुटेको होइन, केही स्वार्थी र षड्यन्त्रकारी समुह चोइटिएर गएका हुन्ः अर्थमन्त्री पौडेल

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी नेकपा नफुटेको भन्दै केही स्वार्थी तत्वहरु चोइटिएको बताएका छन् । आज बुटवलमा नेपाल ओली समुहले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेकपाबाट केही पद लोलुप, गुटको राजनीति गर्ने तथा स्वार्थले भरिएका व्यक्ति पार्टीबाट गइसकेको बताएका हुन् । ‘आजको आम सभामा नागरिकको उपस्थितिबाट पनि प्रमाणित भएको छ, नेकपा फुटेको छैन, केही स्वार्थी तत्वहरु फुटेर गएका हुन् ।’ उनले भने ।

अन्तर्राष्ट्रियस्तरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तारिफ पाइरहँदा प्रचण्डलाई त्यो मन नपरेको उनले आरोप लगाएका छन् । ओली नेतृत्वको सरकारलाई कसरी अपदस्थ गर्ने, पार्टी अध्यक्षबाट हटाउने र आफूले एकाधिकार कायम गर्ने भन्ने ध्याउन्नमा मात्रै प्रचण्ड–नेपाल समुह लागेको उनको आरोप रहेको थियो । नेपाल कम्युनिस्ट पार्टीलाई विभाजन हुनबाट नागरिकले बचाउने र केही स्वार्थी तत्वमात्र आन्दोलन गरेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई हटाउन खोजिरहेको उनले आम सभामा बताएका छन् ।

पार्टीका केही जंगली व्यवहार देखाउने व्यक्तिले गर्दा समेत हाल नेकपाको अवस्था यहाँसम्म आइपुगेको उनले बताए । संविधान सही तरिकाले लागु भएको देख्न नचाहने तत्वले ओलीलाई हटाउन खोजेको उनले बताए । प्रचण्ड–नेपाल समुहका केही नेताहरु अब के हुने हो भन्ने विषयमा अलमलमा परिरहेको भन्दै उनीहरु फेरी आउने उनले दावी गरे ।

पार्टीभित्रका केही नेताको अवरोधका बीचमा पनि यो सरकार विकास निर्माणका कामहरु सफल बनाउँदै अगाडि बढिरहेको उनको भनाई थियो । मुलुकलाई सामाजिक न्याय, समाजवादतर्फ लिएर जानु आजको आवश्यकता भएको उनले बताए । नेपाललाई अन्यौल, अलमलमा पर्न नदिएर राजनीति स्थिरतातर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले ओली नेतृत्वको सरकारलाई विश्वास गर्न आग्रह गरे ।

जनताको अभिमतभन्दा ठूलो अन्य केही नभएको बताउँदै मन्त्री पौडेलले नेकपाको वैधानिकता तथा सूर्य चिन्ह ओली नेतृत्वको नेकपासंग नै हुने दावी गरेका छन् । केहीमा अब के हुन्छ भन्ने अन्यौल रहेको भन्दै उनले वैशाखमा निर्वाचन हुने र यसलाई दुनियाँको कुनै तागतले रोक्न नसक्ने उनले स्पष्ट पारेका छन् ।

कमेन्टहरु
Loading...