पोखरामा लेखिएको ‘महारानी’लाई मदन पुरस्कार समर्पण

 

दिपक के श्रेष्ठ

२०७६ सालको मदन पुरस्कार विजेता कृति महारानीलाई आज पोखरामा पुरस्कार समर्पण गरिएको छ ।

पुरस्कार समारोह अनलाइनमार्फत सम्पन्न भएपनि आज पोखरामा मदन पुरस्कार गुठीले भौतिकरुपमा समर्पण गरेको छ । समर्पण समारोहमा पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले महारानी पोखराा लेखिएको रहस्योद्घाटन गरे । बाँनियाले भने ‘म भाडामा बसेको घरको छिँडीमा महारानी लेखिएको हो ।’

‘महारानीमा पर्वतलाई केन्द्र बनाएर तत्कालीन बाइसे, चौबिसे राज्यभित्र हुने राजनीतिक खिचातानीलाई समेटिएको छ’ बानियाँले भने ‘तर उपन्यारको सम्पूर्ण लेखनी पोखरामा भएको हो । उनले सात वर्षदेखि आफु पोखरामै रहेको उल्लेख गरे ।

पोखरामा रहेर यहीकोबारे लेख्ने हुटहुटी भएपनि लेख्न सकिएला भन्नेमा उनी ढुक्क नरहेको बताउँदै बानियाँले पोखरालाई नजिकबाट नियालिरहेको टिप्पणी गरे । यसैबीच, उनले पुस्तक प्रकाशनको जिम्मा लिने शिखा प्रकाशनप्रति कृतज्ञता ज्ञापन गर्दै गुठीप्रति आभार व्यक्त गरे ।

समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले स्वागत मन्तव्य राखेपछि संस्कृतिवीद् तीर्थ श्रेष्ठको विद्वत् प्रवचन राखिएको थियो । प्रतिकुल स्वास्थ्यकाकारण श्रेष्ठ उपस्थित हुन नसकेपछि पत्रकार अमृत सुवेदीले उनको प्रवचन वाचन गरेका थिए । त्यस्तै, कार्यक्रमकाे अन्त्यमा गुठीका सदस्य सचिव दिपक अर्यालले धन्यवाद ज्ञापन गरेका थिए ।

म्याग्दी जिल्लाबाट निर्वाचित भइसकेका पूर्वसांसद बानियाँले राजनीतिबाट विश्राम लिएर लेखन कर्म सुरु गरेका हुन् । बाँनियाको पछिल्लो कृति निबन्ध संग्रह ‘भौंज्याहा’लाई हालै रत्न साहित्य पुरस्कार गुठी बागलुङले ‘राष्ट्रिय पुरस्कार’ प्रदान गरेको छ ।

बानियाँकाे ‘ऐतिहासिक पर्वत राज्य र मृत्युसंस्कार मन्थन’ लगायत दर्जन कृति प्रकाशित छन् ।

कमेन्टहरु
Loading...