सेनाका राजन रोकायालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

पोखरा । नेपाली सेनाका राजन रोकायाले १५ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद २ लाख तथा ट्रफी पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी द्वितीय र तृतीय स्थानको उपाधिसमेत सेनाका धावकहरुले प्राप्त गरे । सेनाका ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी १ लाख पुरस्कार प्राप्त गरे भने देवीराज बस्नेतले २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्यारथनको निर्धारित दूरी पार गरी तृतीय स्थानको पुरस्कार ७५ हजार प्राप्त गरेका छन् । पाँचथरका प्रदीप तामाङले २ घण्टा ५४ मिनेट ८ सेकेण्डमा दूरी पार गरी सान्त्वना स्थानसहित २५ हजार पुरस्कार तथा ट्रफी प्राप्त गर्न सफल भएका छन् ।

यस वर्ष पहिलोपटक पोखरा म्याराथनमा महिलाका लागि २१ किमीको हाफ म्याराथन समावेश गरिएकामा नेपाल प्रहरीका राजपुरा पछाईंले हाफ म्याराथनको उपाधि जित्न सफल भइन् । निर्धारित दूरी १ घण्टा २७ मिनेट ८ सेकेण्डमा पूरा गरी उनले १ लाख र ट्रफी पुुरस्कार प्राप्त गरेकी छिन् । यसैगरी जुम्लाका राममाया बुढाले १ घण्टा ३० मिनेट ५ सेकेण्डमा दौड पूरा गरी द्धितीय स्थान हासिल गर्न सफल भई ७५ हजार पुुरस्कार प्राप्त गरिन् । सशस्त्र प्रहरी बलका ब्रिन्दा श्रेष्ठले १ घण्टा ३१ मिनेट २ सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय स्थान हासिल गरेकी छिन् । उनले ५० हजार पुरस्कार पाउन सफल भइन् ।

नेपाल प्रहरीका रेखा विष्टले १ घण्टा ३६ मिनेट २ सेकेण्डमा हाफ म्याराथन पूरा गरी सान्त्वना स्थान प्राप्त गरेर १५ हजार पुरस्कार प्राप्त गरेकी छिन् । पोखरा रंगशालाबाट सुरु भएको म्याराथन बजार विभिन्न क्षेत्र पुगेर रंगशालामा आएर समापन गरिएकामा म्याराथनमा २ सय ९ र महिलाको हाफ म्याराथननमा २९ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । विगतका संस्करणमा विदेशी धावकहरुले प्रतियोगितामा सहभागिता जनाउने गरेकामा यस वर्ष कोरोना कारणले विदेशीको सहभागिता थिएन । गत संस्करणको उपाधि जापानका खेलाडीले जित्न सफल भएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश र पोखरालाई खेल पर्यटनको राजधानी बनाउनका लागि विभिन्न संघसंस्थाले गर्ने प्रतियोगिताले मद्दत पुगेको बताउँदै प्रदेश सरकार खेलकूद विकासमा प्रतिबद्ध रहेको बताएका छन् । सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्वमान चित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई कोरोना कहरबाट सिर्जित चूनौतीपूर्ण अवस्थामा पनि निरन्तरता दिइएको मञ्चका अध्यक्ष गुरुङले बताएका छन् ।

विगतका संस्करणमा म्याराथनसहितका अन्य विधाहरु एकै दिन सञ्चालन हुने भएकामा यस वर्ष कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य इभेन्टहरुलाई फरक–फरक मितिमा आयोजना गरिएको मञ्चले जनाएको छ ।

जस अन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहीन दौड फागुन २२ गते हुनेछ । १० किमी महिला/पुरुष दौड आगामी चैत १४ गते र ५ किमी छात्र/छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । १० किमी महिला/पुरुष दौडमा विजेता १५ हजार तथा द्धितीय र तृतीयले १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले ७ हजार, द्वितीयले ५ हजार र तृतीयले ३ हजार पुरस्कार पाउनेछन् । यसैगरी छात्र/छात्रा दौडमा प्रथमले १० हजार द्धितीयले ७ हजार र तृतीय हुनेले ४ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस

तस्बिरः सुदर्शन रञ्जित

कमेन्टहरु
Loading...