पद लोलुपलाई प्रधानमन्त्री पद सुम्पिनु हाम्रो गल्ती थियो, हामी माफी चाहन्छौंः नारायणकाजी श्रेष्ठ

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुको आन्दोलनको पहिलो लक्ष्य प्रतिनिधिसभा पुनःस्थापना गर्नु र असंवैधानिक तरिकाले भएका नियुक्तिहरुको विरोध गर्नु भएको बताएका छन् । राजधानीमा आयोजित जनसभामा बोल्दै प्रवक्ता श्रेष्ठले उक्त नियुक्तिको खारेज गर्न बाध्य बनाउने उनले बताए । वर्तमान सरकारले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि वर्तमान प्रधानमन्त्री ओली सांसद नभएको र प्रधानमन्त्रीको पदमा बस्ने हक नभएको उनको भनाई थियो ।

प्रतिनिधिसभा विघटन भइसकेपनि समेत विभिन्न नियुक्ति दिनु असंवैधानिक भएको उनको दावी थियो । कामचलाउ सरकार भइसकेपछि समेत प्रधानमन्त्री ओली अवैधानिक तरिकाले पदमा बसिरहेको बताएका छन् । प्रतिगामी कदमलाई पराष्त पार्नका लागि आफूहरुको संघर्ष भएको उनको दावी थियो । हालको आन्दोलनको उद्देश्य संविधान तथा लोकतन्त्रको रक्षा गर्दै देशलाई समृद्धिको बाटोमा लैजान भएको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचन संविधान अनुसार नभएकाले आफूहरुलाई यो चुनाव नचाहिने उनले स्पष्ट पारेका छन् । ओलीले यो निर्वाचन सम्पन्न गर्नका लागि घोषणा नगरेको उनको आरोप थियो ।

आफूहरुले संयुक्त आन्दोलनका विषयमा छलफल जारी राखेको भए पनि त्यस्तो हुन नसकेको उनले बताए । ‘संयुक्त संघर्षका लागि नेपाली कांग्रेस तथा जसपा लगायतसंग छलफल जारी राखेका छौं, तर त्यो हुन सकिरहेको छैन ।’ उनले भने । यो आन्दोलनले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा उनले विश्वास व्यक्त गरेका छन् । आफूहरुले पद लोलुपलाई प्रधाममन्त्रीको पद सुम्पिँदा मुलुकमा समृद्धि आउन नसकेको उनको दावी थियो । जनतालाई गरेका प्रतिवद्धतालाई पुरा गर्न नसकेकोमा उनले माफी मागेका थिए ।

कमेन्टहरु
Loading...