दिपक के श्रेष्ठ
पोखरामा टाइगर ग्रुपले आयोजना गरेको प्रथम टाइगर कप राष्ट्रिय महिला पुरुष अन्तरक्लब भलिबल च्याम्पियनशीपमा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ (पीएस)ले पोखरालाई ‘स्पोर्टसउड’ बनाउने बताएका छन् ।
मुख्यमन्त्री गुरुङले च्यम्पियनशीपको उद्घाटन गर्दै भनेका छन्, ‘पोखरा भलिउडमात्र हैन, सम्पूर्ण खेलको हब हुने भएकाले स्पोर्ट्सउड हो ।’ मुख्यमन्त्री अघि बोल्नेक्रममा नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन रमण शर्माले पोखरालाई ‘भलिउड’ भनि चिनाइनु पर्ने उल्लेख गरेका थिए । कोरोना कहरकैबीच पोखरमा टाइगर ग्रुपले राष्ट्रियस्तरको खेल आयोजना गरेकोे भन्दै उनले संघकोतर्फबाट शुभकामना दिने क्रममा पोखरालाई भलिउडको ट्याग दिइनु पर्ने भनाई राखेका थिए ।
त्यसपश्चात् प्रमुख अतिथिकोरुपमा बोल्दै मुख्यमन्त्री गुरङले पोखरामा सबैथरीका खेल खेलाउने वातावरण भएको बताउँदै स्पोर्टस्उडको धारणा राखेका थिए । हालसम्म पूर्वाधार र कानूनको निर्माणमा प्रदेश सरकार अघि बढेको जनाउँदै गुरुङले आगामी वर्षबाट खेलकुदले गति लिने ठोकुवा गरे ।
प्रतियोगिताबारे जानकारी दिँदै ग्रुपका सदस्य रामकृष्ण ज्ञवालीले प्रदेशको महिला टिम नभएकोमा दुखेसो पोखे । ‘पुरुष टिम सहभागी भएको छ तर राष्ट्रियस्तरमा महिला खेलाडी जन्माउने प्रदेशमा अहिले महिला टिम नै छैन’ ज्ञवालीले भने ‘मुख्यमन्त्री उपस्थित हुनुहुन्छ, यतापट्टी पनि सोचियोस् ।’
त्यस्तै, ग्रुपका अध्यक्ष नारायण शर्माले प्रतियोगिताको औंचित्यबारे बोल्दै ग्रुपले आगामी दिनमा अन्य खेल प्रतियोगिता आयोजना र समाजसेवामा सक्रिय रहने बताए ।
प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको महिला एवं पुरुष टिमको सहभागिता रहेको छ । त्यसबाहेक न्यू डाइमण्ड स्पोर्टस क्बलको महिला र गण्डकी प्रदेशको पुरुष टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।