काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्या प्रकरणमा भइरहेको अनुसन्धानमा छिट्टै सफलता मिल्ने दावी गरेका छन् । भट्टको हत्या प्रकरण कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरण जस्तो जटिल नभएकाले यो प्रकरणमा छिट्टै सफलता मिल्ने दावी गरेका हुन् ।
आज नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ) ले भट्टको हत्यामा संलग्नलाई पक्राउ गरेर कारवाहीका लागि अनुरोध गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै भागरथीको हत्यामा संलग्न अपराधीलाई पक्राउ गरेर कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सरकारको अनुसन्धान तथा प्रशासनिक निकाय हाल भागरथी हत्या प्रकरणको अनुसन्धानका लागि बैतडीमा नै केन्द्रित रहेको समेत गृहमन्त्री थापाले जानकारी दिएका छन् । अनुसनधानमार्फत् अपराधीको नजिकै पुगेको जानकारी दिंदै गृहमन्त्री थापाले अपराधी पत्ता लगाउनका लागि युवा, विद्यार्थी, नागरिक समाज लगाउनको सहयोगको अपेक्षा गरेका थिए ।
ज्ञापनपत्र बुझाउन नेविसंघका महामन्त्री बलदेव तिमिल्सिना सहित संघका अध्यक्ष राजीव ढुंगाना लगायतका नेताहरु पुल्चोकस्थित गृहमन्त्री निवासमा आज बिहान पुगेका थिए । ज्ञापनपत्रमार्फत् संघले भागरथी प्रकरणमा संलग्नलाई तत्काल पक्राउ गरेर कडा कारवाही गर्न, पक्राउ नगरिएको खण्डमा कडा कारवाही गर्ने चेतावनी समेत दिइएको संघका अर्का महामन्त्री दीपक भट्टराईले जानकारी दिएका छन् ।
गत बुधबार बैतडीको दोगडाकेदार गाउँपालिका वाड नम्बर ७ चडेपानीकी १७ वर्षीय भागरथी भट्टको बलात्कार पछि हत्या भएको थियो । प्रहरीका अनुसार अनुसन्धानबाट अपराधीको नजिकै पुगेको भए पनि उनको हत्या प्रकरणमा संलग्न अझै पक्राउ पर्न सकेका छैनन् ।