फेवातालबाट बगेर गयो ५ करोड ८० लाख लिटर पानी

पोखरा । मर्मत गर्नका लागि शुक्रबारदेखि खोलिएको फेवाताल बाँधबाट सोमबारसम्म १ मिटर पानी बगेर गएको छ ।

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीले सोमबारसम्म तालबाट १ मिटर पानी बगेर गएको जानकारी दिएका हो । सिँचाई कार्यालय कास्कीका प्रमुख किरण आचार्यका अनुसार फेवातालमा १ मिटर पानीको मात्रा घटाउँदा ५ करोड ८० लाख लिटर पानी बगेको छ ।

कार्यालयले फेवातालमा पानीको सतह २ मिटरसम्म घटाउने बताएको थियो । तर यतिबेला फेवाताल घुम्न आउने पर्यटक र सर्वसाधारणले तालको दृश्य देखेर केही दुखेसो व्यक्त गरेका कारण पानीको सतह आवश्यकभन्दा थोरै घटाएर काम भइरहेको  छ ।

बाँध मर्मत गर्न करिब १ महिना समयवधि लाग्ने आचार्यले जानकारी दिएका छन् । मर्मत समयवधिभर फेवातालमा पानी सतह अहिलेको जस्तै रहने छ । यसअघि डिभिजन कार्यालयले गतवर्ष तालको बाँधबारे अध्ययन गरेर बाँध मर्मत गर्नुपर्ने निष्कर्ष निकालेको थियो । जसका आधारमा गण्डकी प्रदेश सरकारले बाँध मर्मत र नहर मर्मत गर्न २ करोड बजेट छुट्याएको थियो ।

 

तस्विर: रिना थापा

 

 

 

 

 

कमेन्टहरु
Loading...