राजु गिरी, पोखरा ।
पोखरा महानगरपालिकाको आठौं नगरसभा आइतबारबाट सुरु भएको छ । नगरसभामा ६ वटा विद्येयक पारितका लागि र १७ वटा विधेयक मस्यौदामा छलफलका लागि पेश हुनेछ ।
नगरसभामा पारितका लागि पेश हुनेमा कृषि, पूर्वाधार विकास निगम, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, पर्यटन, विपद् जोखिम न्यूनीकरण तथ व्यवस्थापन र गैह्र सरकारी संस्था सम्वन्धी विधेयक रहेका छन् ।
त्यस्तै सभामा संशोधनका लागि आर्थिक कार्यविधि, गण्डकी बहुप्राविधिक शिक्षालय, कर तथा गैह्र राजश्व, खेलकुद, सहकारी, शुसासन, शहरी योजना, बालबालिकाको अधिकार व्यवस्थापन, फोहोरमैला व्यवस्थापनसहित १७ वटा ऐन पेश हुनेछ ।
आठौं नगरसभालाई सुभारम्भको घोषणा गर्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पोखरालाई उत्कृष्ट महानगरको रुपमा विकास गर्न उचित ऐन, कानुन, नियम आवश्यक रहेको बताए । साथै समय परिस्थिति अनुसार परिमार्जन गर्दै जानुपर्ने उनको भनाई छ ।
त्यस्तै महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले समुन्नत समाजको परिकल्पना गरि उत्कृष्ट पोखरा बनाउने योजनालाई सफल बनाउन नगरसभाले महत्वपूर्ण भुमिका खेल्ने बताईन् ।
सभामा नेपाली काँग्रेसका तर्फबाट सचेतक रामराज लामिछानेले विधि तथा कानुन बनाउने भन्दापनि यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने तर्फ सोच्न जरुरी रहेको बताए । नियम कानुन कागजमा मात्र नभई सबैले कानुनी रुपमै पालना हुनुपर्ने उनको जोड थियो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट सचेतक शोभामोहन पौडेलले महानगरले बनाएको निती, नियम तथा कानुन बृहत छलफल पछि नै आएको र हचुवाको भरमा नआएको स्पष्ट पारेका छन् । साथै महानगरले गरेको कार्यको प्रशंसा समेत उनेले गरे ।