कोरोना महामारीको मारमा परेको पोखरा रंगशाला लयमा फर्किंदै

पोखरा । खेलकुदको समेत सहर मानिएको पर्यटकीय नगरी पोखरा यति बेला खेलमै व्यस्त छ । ९ महिनाको लामो अन्तरालपछि पोखरामा विभिन्न खेल गतिविधि पुनः सञ्चालनमा आएका छन् । खेल गतिविधि संचालन गर्ने अनुमति पाएसँगै पोखरामा पनि एक पछि अर्को गर्दै खेलकुद प्रतियोगिता आयोजनाका मितिहरु तय हुन थालेका छन् । यसैबीच अन्यौलमा परेका प्रतियोगिताको तयारी धमाधम भइरहेको छ ।

रंगशालामा पुनः प्रशिक्षण गर्नेदेखि प्रतियोगिता खेल्ने खेलाडी मैदानमा उत्रिएका छन् । अन्यौलमा परेको आहा रारा कपदेखि पोखरा सफल म्यारोथनको तयारी अन्तिम चरणमा पुगिसकेको छ ।

यस्तै यसवर्ष ‘एनसेल बाह्रखरी आमन्त्रण गल्फ’ आजदेखि पोखरामा नै सुरु भएको छ । नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याउने उद्देश्यसहित यतिबेला ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को चौथो संस्करण पोखरामा आयोजना भएको हो ।

प्रतियोगिताको मिति तय भएसँगै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगीले पोखराको खेलकुदले पुनः गति लिनेमा विश्वस्त छन् । ‘कोरोनाका कारण लामो समयपछि यसरी खेल प्रतियोगिता सञ्चालन हुँदा खेलाडी र आयोजक दुवै खुसी छन् ।’ उनले भने, ‘खेलाडीको प्रमुख आवश्यकता प्रतियोगिता र प्रशिक्षण हो, यसरी खेल सुचारु हुँदा खेलाडी बल्ल सहज वातारणमा फर्किदै छन् ।’ खेल गतिविधि सुचारु भएपनि स्वास्थ्यका हिसाबले कोरोनालाई हेलचेक्र्याईं नगर्न योगीको आग्रह छ ।

‘कति खेलाडीको जीविकोपार्जन प्रतियोगिताबाट हुने गरेको छ, महामारी पछि अहिले प्रतियोगिताले केही राहत दिन्छ कि ?’ उनले भने । कोरोना महामारीपछि पोखरामा के–के प्रतियोगितको मिति तय भए त ?

यही फागुन १ गतेदेखि १५ औं संस्करणको म्याराथन

यही फागुन १ गतेदेखि १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुँदै छ । भूतपुर्व खेलाडी मञ्च नेपालले यस वर्षको उक्त प्रतियोगिताको मुख्य इभेन्ट म्याराथन ४२.१९५ किलोमिटर दौड प्रतियोगिता राखेको छ । मञ्चले यस वर्षदेखि महिला धावकलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगितासमेत आयोजना गरेको छ ।

यसवर्ष कोरोनाका कारण अन्य विभिन्न इभेन्टका दौड प्रतियोगितालाई विभिन्न ४ चरणमा गर्ने बताएको छ । जसअनुरुप १० किलोमिटर महिला तथा पुरुषतर्फको दौड प्रतियोगिता चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुषतर्फको ह्विल चियर दौड प्रतियोगिता र आउँदो वैशाख ४ गते मञ्चको वार्षिकोत्सको अवसरमा ५ किलोमिटर विद्यालय स्तरीय छात्र/छात्रा दौड प्रतियोगिता हुने मञ्चले जानकारी दिएको हो ।

यस्तै म्याराथनका विजेतालाई २ लाख उपविजेतालाई १ लाख र तेस्रो हुने खेलाडीलाई ७५ हजार, सान्त्वना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणापत्र राखिएको छ । महिलातर्फको हाफ म्याराथनको विजेतालाई १ लाख, उपविजेतालाई ७५ हजार, तेस्रो हुनेलाई ५० हजार र सान्त्वना पुरस्कारमा १५ हजार नगद रहेको छ ।

आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता

पोखरा रंगशालामा यही २७ माघ देखि १ गतेसम्म ‘आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला र पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ । सो प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको आयोजक टिम ट्राइगर गु्रपले जानकारी दिएको छ । प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाडौं, त्रिभुवन आर्मी क्लब, काठमाडौं, नेपाल प्रहरी काठमाडौं र गण्डकी प्रदेशको सहभागिता रहने छ । यसैगरी महिलातर्फ सशस्त्र प्रहरीबल काठमाडौं, त्रिभुवन आर्मी क्लब काठमाडौं, नेपाल प्रहरी काठमाडौं र न्यू डायमण्डको सहभागिता हुने छ ।

फागुन ४ गतेदखि मुख्यमन्त्री कप

‘आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला र पुरुष भलिबल प्रतियोगिता’ सकिए लगत्तै पोखरा रंगशालामा फागुन ४ गते देखि ८ गतेसम्म ‘प्रदेश स्तरिय मुख्यमन्त्री कप महिला र पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको संघले बताएको छ । जस प्रतियोगितामा कास्की सहित ९ जिल्लाको महिला तथा पुरुष टिमको छनोट खेल सम्पन्न भइसकेको छ । यस प्रतियोगितालाई पोखरामा हुने ९ औं राष्ट्रिय खेलकुदको पूर्व तयारी अनुरुप लिएको छ । सो प्रतियोगिता खेलाडी प्रतिभा छनौटको रुपमा राखिएको छ ।

नेपालमै पहिलोपटक बक्स क्रिकेट प्रतियोगिता

माछापुच्छ्रे क्रिकेट एकेडेमीले यही फागुन १ गतेदेखि ४ गतेसम्म पोखरामा बक्स क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । फागुनबाट सञ्चालनमा आउन लागेको एकेडेमीले नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता लेखनाथ–२७ स्थित माछापुच्छ्रे क्रिकेट एकेडेमीमा सञ्चालन हुने एकेडेमीले जानकारी दिएको छ । प्रतियोगिताका लागि हालसम्म १२ टिमले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको विजेताले नगद ३२ हजार र उपविजेताले १६ हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान २ हजार ५सय प्राप्त गर्नेछन् ।

१० औं सस्करणको बगर भाई एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता

पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको आयोजना फागुनको अन्तिम साता पोखरामा १० औं सस्करणको बगर भाई एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुँदै छ । पोखराको टुँडिखेल मैदानमा आगामी फागुन २४ गतेदखि २९ गतेसम्म ‘चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको हो । ‘स्वास्थका लागि १ घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले २०६८ साल देखि ४० वर्ष देखि ६५ वर्षको उमेर समुहका पाका खेलाडीहरु समेटेर भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

आहा गोल्ड कप

त्यस्तै आगामी चैत १७ देखि २८ गते सम्म आहा रारा गोल्ड कपको १९ औं सस्करण पोखरा रंगशालामा सञ्चालन हुने भएको छ । आहाको १९ औं १२ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कोरोनाका कारण गोल्ड कपमा कति टिम सहभागी हुन्छन् आयोजकले निश्चित गर्न सकेका छैनन् । त्यस्तै यतिबेला प्रशिक्षणकै लागि भनेर नेपाली राष्ट्रिय खेलाडी टिम पोखरामा आएको छ । करिब २ साता प्रशिक्षण गरेर यही २१ गते काठमाडौं फर्किने खेलाडीको तालिका १ हप्ता लम्बिएको छ ।

कमेन्टहरु
Loading...