विप्लवलाई मुलधारको राजनीतिमा ल्याउने सरकारको प्रयास जारी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मुलधारको राजनीतिमा ल्याउन सरकारले पहल तथा वार्ता सुरु गरेको छ । पछिल्लो पटक चन्द नेतृत्वको नेकपालाई नेपालको मुलधारको राजनीतिमा ल्याएर शान्तिपूर्ण वातावरणमा अवतरण गराउने उद्देश्य सहित सरकारले पछिल्लो समय प्रयास गरिरहेको खानेपानीमन्त्री मणि थापाले बताएका छन् ।

मन्त्री थापाले केही दिन अगाडि विप्लव समुहका नेता हेमन्त प्रकाश ओलीसंग नख्खु कारागारमा आफैं उपस्थित भएर कुराकानी गरेका थिए । मन्त्री थापा तथा ओली जनयुद्धकालीन साथी समेत हुन् । मन्त्री थापाले आफूले ओलीसंग भेटेको बताउँदै आगामी निर्वाचनमा सबै राजनीतिक दललाई सहभागी गराउने उद्देश्य सरकारको रहेको बताएका छन् ।

विप्लवलाई नेपालको मुलधारको राजनीतिमा आउनुको अर्को विकल्प नभएको खानेपानीमन्त्री थापाको भनाई रहेको छ ।

हाल जेलमा रहेका उक्त समुहका नेता ओलीले मन्त्री थापासंग मुलधारको राजनीतिमा आउन ढोका खोलिदिन सरकारसंग आग्रह गरेको बताइएको छ । मन्त्री थापाले भूमिगत रुपमा रहेका शक्तिहरुलाई मुलधारमा ल्याएर सरकारले अभिभावकत्व ग्रहण गर्न खोजेको बताए ।

यस अगाडि २०७५ साल फागुन १५ गते सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । सरकारले उक्त समुहलाई मुलधारको राजनीतिमा ल्याउनका लागि वार्ता गर्ने भन्दै वार्ता टोली समेत बनाएको थियो । तर उक्त वार्ता टोलीले विप्लव समुहलाई वार्तामा ल्याउन सकेको थिएन ।

कमेन्टहरु
Loading...