टाइगर ग्रुप अफ पोखराद्वारा आयोजना हुने भलिबल प्रतियोगिताको तयारी सम्पन्न

पोखरा । पोखरामा यही माघ अन्तिम सातादेखि पोखरामा आयोजना हुने आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला र पुरुष भलिबल प्रतियोगिताको तयारी सम्पन्न भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा प्रतियोगिता २७ माघदेखि १ फागुनसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाडौं, त्रिभुवन आर्मी क्लब, काठमाण्डौं, नेपाल प्रहरी काठमाडौं र गण्डकी प्रदेशको सहभागिता रहने भएको ग्रुपले जानकारी दिएको छ । यसैगरी महिलातर्फ सशस्त्र प्रहरीबल काठमाडौं, त्रिभुवन आर्मी क्लब, काठमाडौं, नेपाल प्रहरी काठमाडौं र न्यू डायमण्डको सहभागिता रहने छ ।

प्रतियोगितामा उपाधी विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वित्तीयले ७५ हजार तथा तृतीयले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।

यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्नेछन् ।

कुल २५ लाख अनुमानित खर्च हुने जनाइएको उक्त प्रतियोगितामा ३० लाख बचत हुने ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले बताएका छन् । उनका अनुसार प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने छ । प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १ सय तोकिएको छ भने सेमिफाइनलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय तोकिएको छ ।

कमेन्टहरु
Loading...