‘एमसीसी चाहिँदैन’ भन्ने नारा सुनेपछि प्रचण्ड किन झस्किए, किन लजाए ?

 

दिपक के श्रेष्ठ

नेकपाले बिहीबार आयोजना गरेको देशव्यापी आमहडतालको निरीक्षण गर्न ल्याण्डक्रुजर चढेर पुल्चोक पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनकारीसँगै केहीबेर नारा लगाउन भ्याए ।

गाडी र सुरक्षाकर्मीसहित पुल्चोक पुगेका प्रचण्डले मुट्ठी उठाउँदै प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्ध कार्यकर्तासँगे जिन्दावाद र मुर्दावादको स्वर उराले । तर रमाइलो त्यतिबेला भयो जब कार्यकर्ताले ‘एमसीसी चाहिँदैन’ भन्दै नारा लगाए ।

एकोहोरोरुपमा मुट्ठि उचाल्दै नारा लगाएका प्रचण्ड उक्त नारा सुनेपछि बीचैमा हात तल झारेर केही झस्कँदै खिस्स हाँसे, लजाए । र, छेवैमा रहेकी नेतृ पम्फा भुसालमार्फत उक्त नारा नलगाउन निर्देशन दिए ।

त्यसपछि केही लज्जितजस्तै देखिएका प्रचण्ड खिस्स हाँसे र नारा नलगाइ हात बाँधेर उभिए । एकछिनपछि सोही नारा दोहोरिएपछि उनी कार्यक्रमस्थलबाट बाहिरिए ।

 

 

सन् २०१७ मा अमेरिकाले मिलिनियम च्यालेञ्ज कार्पाेरेशन (एमसीसी)मार्फत नेपाललाई ५५ अबै रुपैयाँ दिने सम्झौता गरेको छ । गत असारको १६ गतेदेखि कार्यान्वयन हुनुपर्ने उक्त सम्झौता असार १५ मा संसद्बाट पारित हुन सकेन ।

नेकपाका केही नेताहरु एमसीसीको विपक्षमा रहेपछि सम्झौता कार्यान्वयन हुन सकेको छैन । प्रचण्ड एमसीसीको पक्षमा रहेपनि देव गुरुङलगायतका नेताहरु विपक्षमा रहेपछि प्रचण्डले बिहीबार उक्त नारा नलगाउन निर्देशन दिएको अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...