बन्द हड्तालका कार्यक्रम नगर्न पोखरा उद्योग वाणिज्य सङ्घको आग्रह

पोखरा उद्योग वाणिज्य सङ्घले बन्द हड्तालका कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ को जोखिम कायम रहेकै बेला देशमा देखिएको राजनीतिक अस्थिरता र यससँगै शुरु भएको बन्द हड्तालका कार्यक्रमले नेपालको समग्र निजी क्षेत्र तथा पोखरा उद्योग वाणिज्य सङ्घलाई चिन्तित तुल्याएको भनिएको छ ।

सङ्घका महासचिव सुरेन्द्रमान विजुक्छेद्वारा जारी विज्ञप्तिमा सङ्घ सधैँ जुनसुकै प्रकारका बन्द हड्तालको विपक्षमा रहँदै आएको र एक दिनको बन्दले अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव महिनौँसम्म कायम रहने उल्लेख छ । “एकातिर कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर, अर्कोतिर बन्द हड्तालले दिने पीडा, यी गतिविधिले देशको देशको अर्थतन्त्रलाई थप धरासायी बनाउने निश्चित छ”, विज्ञप्तिमा भनिएको छ ।

यसअघि भएका प्रतिबद्धता स्मरण गर्दै सङ्घले बन्द र हड्तालका कार्यक्रम सधैँका लागि बन्द गर्न राजनीतिक दल तथा अन्य सरोकारवाला निकायसँग माग गरेको छ । दललाई आफ्ना असहमति शान्तिपूर्ण तवरले अभिव्यक्त गर्न र समझदारी एवं सहकार्यका साथ अघि बढ्न सङ्घले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...