काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल (प्रचण्ड) सडकमा आएका छन् । प्रचण्ड सातदोबाटो चोकमा निस्किएका हुन् ।
प्रचण्ड(नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।
शीर्ष नेताहरुले आफुले जारी गरेको हडताल सफल बनाउन सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् ।
बन्दका कारण बिहानैदेखि सडकमा गाडी चलेका छैनन् । केही सार्वजनिक गाडी भने बिहानी समयमा चलेका थिए । एम्बुलेन्स, अस्पतालका बस, खाद्यान्न, दुध, औषधीका गाडी, सञ्चारकर्मीका सवारी साधन चलेका छन् । ठाउँ ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कतिपय ठाउँमा प्रहरी र दाहाल-नेपाल समूहको घम्साघम्सी परेको छ ।
प्रचण्ड–माधव नेपाल समूहले घोषणा गरेको आमहड्तालमा सडकमा निस्किएका ७७ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दै काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै यता पोखरामा समूहका कार्यकर्ता विनायक तिमिल्सना पक्राउ परेका छन् । यता कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।