हाइकिङका माध्यमबाट थप्रेक तथा गलेखामकोटको प्रवद्र्धन गरिदै

पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक तथा शुनपा १ र व्यास नगरपालिका वडा नं ६ को सिमानामा पर्ने गलेखामकोटकोे प्रवद्र्धन गर्ने भएको छ । हाइकिङका माध्यमबाट गण्डकी प्रदेश भित्रका पर्यटकीय गाउँको उजागर गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो १६ औं श्रृङ्खला थप्रेकमा गर्न लागेको हो । प्रत्येक महिनाको अन्तिम शनिबार संस्थाले विभिन्न पर्यटकीय गाउँमा पुगी त्यहाँको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालका उपाध्यक्ष कृष्ण रानाभाटले बताएका छन् । ‘गण्डकी प्रदेश भित्र विभिन्न रमणीय गाउँ प्रवद्र्धनको अभावमा पर्यटन बजारमा पुग्न सकेका छैनन् ।’ उनले भने, ‘गाउँका प्रकृति र संस्कृतिलाई उजागर गराउन पर्यटन व्यवसायी सहित विभिन्न सङ्घसंस्थामा आवद्ध व्यक्तिहरूलाई हाइकिङका माध्यमबाट विभिन्न स्थानमा पु¥याउने गरिएको छ ।’

मोटरेवल बाटो विकाससँगै विगतमा स्थानीयको आवतजावतमा धेरै योगदान पु¥याएको तर हाल खासै प्रचलनमा नआएका पुराना ऐतिहासिक बाटोघाटोलाई हाइकिङका क्रममा प्रयोग गर्ने गरिएको रानाभाटले जानकारी दिएका छन् । १६ औं श्रृंखलासम्म आइपुग्दा आफूहरूको लुकेका गाउँको प्रवद्र्धन अभियान उपलब्धिमूलक बन्दै गएको बताउँदै उनले थप्रेकका पर्यटकीय सम्भावनालाई उजागर गर्न यही माघ २४ गते हुने १६ औं संस्करणको हाइकिङ महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरेका छन् ।

थप्रेकका विभिन्न स्थानस्थित समुद्री सतहबाट १ हजार २ सय मिटर भन्दा बढी उचाइका ठाउँबाट हिमश्रृंखलादेखि पहाडी भूभागको एक साथ अवलोकन गर्न सकिने शुक्ला गण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रवीचन्द्र पौडेलले जानकारी दिएका छन् । थप्रेकबाट करिब १५ किलोमिटरमा पृथ्वीराजमार्गको कोत्रेका साथै तल्लो गगनगौंडा पुग्न सकिन्छ भने थप्रेक नजिकै रहेको धार्मिक पर्यटकीयस्थल गलेखामकोटबाट १५ किलोमिटरको दूरीमा सदरमुकाम दमौली पुग्न सकिन्छ । यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न पूर्वाधार विकास लगायतका कामलाई आफूहरू निर्वाचित भए पछि प्राथमिकतामा राखेर कामहरू अघि बढाइएको उनले बताएका छन् ।

थप्रेकमा गुरुङ समूदायको बाक्लो बासोबास रहेको तमु हरियाली क्लबका अध्यक्ष लोक गुरुङले बताए । थप्रेकमा पर्यटकको आगमनलाई सहज बनाउन विभिन्न पूर्वाधार निर्माण हुने क्रम बढिरहेको उल्लेख गर्दै उनले थप्रेक देवी थान नजिकै भ्यु टावर निर्माण गरिएको बताएका छन् । मौलाडाँडाका रुपमा रहेको देवी थानलाई प्राचीन कालदेखि नै आस्था एवम् विश्वासका साथ पूजाआजा हुँदै आएको उनले जानकारी दिएका छन् । पर्यटकीय पूर्वाधार विकासका क्रममा थप्रेकमा भ्यु टावर सहित पर्यटनमैत्री भवन, शौचालय, आदि पूर्वाधार निर्माण भएका छन् ।

अर्का युवा दिनेश गुरुङका अनुसार थप्रेकबाट पोखरा महानगरसहित कास्कीको रुपा गाउँपालिकाको अधिकांश भाग, लमजुङ, दमौली, मानुङकोटका साथै धवलागिरीदेखि गोरखा हिमालसम्मका दृश्य अवलोकन गर्न सकिन्छ । थप्रेक नजिकै रहेको धार्मिक पर्यटकीय तीर्थस्थल गलेखामकोट यहाँको अर्को आकर्षण हो । यहाँ नेवार समूदायको बाहुल्यता छ ।

बढ्दो पर्यटकीय आकर्षणसँगै टाढा टाढाका रमणीय दृश्य नियाल्न गलेखामकोटमा भ्यु टावर निर्माण गरिएको छ । भ्यु टावरबाट विभिन्न छिमेकी जिल्ला लमजुङ, स्याङ्जा, गोर्खा र कास्कीका स्थान सजिलै देख्न सकिन्छ । पछिल्ला समयमा आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गरी खान र बस्न उचित प्रबन्ध भइरहेको स्थानीयवासीले बताए । गलेखामकोटको कोटभैरवी मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण कास्की तथा तनहुँका विभिन्न भूभागबाट दशनार्थी आउने गरेका छन् ।

हिमाली दृश्यका साथै सूर्योदय, बेसीतर्फ देखिने बादलको तह लगायतले थप्रेकमा आउने जो कोही पर्यटक लोभिने गरेको समाजसेवी एवं विलाउने खोला लिफ्टिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोविन्द सुवेदीले बताए ।

यहाँका स्थानीयले कृषिजन्य उत्पादनलाई पनि प्राथमिकता दिएका छन् । थप्रेक क्षेत्रको भ्रमणमा आउने पर्यटकले यहाँका स्थानीय उत्पादन समेत लिएर जान सक्ने अगुवा कृषक एवम् सुवेदी कृषि फर्मका सञ्चालक भेषराज सुवेदी बताउँछन् । सुवेदी कृषि फर्ममा उत्पादित फलफूल तथा तरकारी थप्रेक क्षेत्रमा नै खपत हुने गरेको बताउँदै उहाँले उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको बताए । प्रवद्र्धनको अभावमा ओझेलमा परको थप्रेक तथा गलेखामकोटका प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पक्षको उजागर गनु अपरिहार्य भएको सरस्वती मा.वि. थप्रेकका पूर्व शिक्षक ठाकुरप्रसाद खनाल बताउँछन् ।

‘प्रवद्र्धन मात्र गर्न सके पनि थप्रेक तथा गलेखामकोट महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थापित हुन सक्छन् ।’ उनले भने, ‘यी स्थानको प्रवद्र्धन र विकासमा स्थानीय जागरुकताका साथै राज्यको पनि ध्यान पुग्नु अपरिहार्य छ ।’

कमेन्टहरु
Loading...