तनहुँ । तनहुँको भीमाद नगरपालिका–५ र ६ जोड्ने रिषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भीमाद ीरषिङपाटनमा कालोपत्रको काम अगाडि बढेको हो । गत वर्षको मंसिर पहिलो सातादेखि काम सुरु गरिए पनि कोभिडका कारण बीचमा काम प्रभावित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
वैशाखसम्म सडक कालोपत्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको कार्यालयका प्रमुख ओमराज ढुंगानाले जानकारी दिएका छन् । सडक कालोपत्र गर्ने म्याद विसं २०७७ पुस २२ गतेसम्म रहे पनि २५ प्रतिशत समयअवधि थप भएको छ । ‘बेस हाल्न सुरु भइसकेको छ, वैशाखसम्म काम सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन ।’ ढुंगानाले भने ।
ट्रयाक खुलेको २४ वर्षपछि उक्त मार्ग कालोपत्र हुन लागेको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् १२ करोड ७८ लाख ९८ हजार ५ सय ७३ को लागतमा सडक कालोपत्रको ठेक्का लागेको छ । उक्त सडकको ट्रयाक विसं २०५२ मा खुलेको थियो । सडक कालोपत्रका लागि काठमाडौंस्थित महालक्ष्मी कन्स्ट्रक्शन कन्सर्नसँग गत असोज २३ गते सम्झौता भएको थियो । ६ किमी सडकको १० मिटर दायाँबायाँमध्ये ९ मिटरमा कालोपत्र गरिनेछ । सडकको १/१ मिटरमा नाला निर्माण हुनेछ । धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्र भएपछि सहज हुनेछ । उक्त सडक एक निर्वाचन क्षेत्र १सडकअन्तर्गतको योजना हो ।
ट्रयाक खुलेको लामो समयपछि मोटरमार्गमा कालोपत्रको काम सुरु भएपछि स्थानीयवासी खुसी भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्जसिंह गुरुङले बताएका छन् । सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताए । ‘सडक कालोपत्र सम्पन्न भएसँगै धुलोको समस्याबाट मुक्ति पाइने भएको छ ।’ गुरुङले भने ।
भूकम्पले भत्किएको गुम्बा पुनःनिर्माण सुरु
विसं २०७२ वैशाखको भूकम्पले क्षति पुगेको तनहुँको भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा पुनःनिर्माण सुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदान सहयोगमा भूकम्पले भत्किएको गुम्बाको पुनःनिर्माण सुरु गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले तनहुँमा २ वटा गुम्बा पुनःनिर्माणका लागि सम्झौता भएकामा एउटाको काम सुरु भएको र अर्को गुम्बाको पनि काम सुरु गर्न ताकेता गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार उक्त गुम्बा असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ । प्राधिकरणले भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका–२ स्थित बुद्ध हिमाली तमु समान गुम्बा पुनःनिर्माणका लागि अनुदान उपलब्ध गराएको छ । ८७ लाख ७३ हजार ६ सय २० को लागतमा २ वटा गुम्बा पुनःनिर्माण हुन लागेको हो । त्यसका लागि पुनःनिर्माण प्राधिकरणले ६० लाख ८५ हजार ७४ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय तहले र स्थानीयवासीले जनश्रमदान गर्नुपर्नेछ ।
गुप्ताका अनुसार उर्गेन छोइलिङ गुम्बा ४४ लाख ६६ हजार २० को लागतमा पुनःनिर्माण हुनेछ । त्यसका लागि पुनःनिर्माण प्राधिकरणले ३० लाख ९७ हजार ४ सय ७४ उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले १२ लाख १८ हजार ५ सय ४५ बेहोर्नेछन् । बुद्धहिमानी तमु समान गुम्बा ४३ लाख सात हजार ६ सयको लागतमा पुनःनिर्माण हुन लागेको हो ।
त्यसका लागि पुनःनिर्माण प्राधिकरणले २९ लाख ८७ हजार ६ सय उपलब्ध गराएको छ भने भानु नगरपालिकाले १ लाख ५० हजार र स्थानीयवासीले ११ लाख ७० हजार बेहोर्नेछन् । रासस