सेतीको डिलमा रोपिँदैछ ‘ड्रागनफ्रुट’ सपना

दिपक के श्रेष्ठ

एक आफन्तको लेकसाइडस्थित घरको बगैंचामा ड्रागनफ्रुट फलिरहेको देखेर अचम्म मानेका शेरबहादुर पुनले उक्त फलको स्वाद चाखेपछि त्यसको गुण र महत्व थाहा पाए । महंगो मूल्य तर स्वास्थ्यमा फाइदैफाइदा हुने चाल पाएपछि पुन समाजले झेलिरहेको आर्थिक अभावलाई समेत उकास्ने योजना बनाए ।

‘जहाँ इच्छा, त्यहाँ उपाय’ भने झैं खर्चबर्चको समस्या झेलिरहेको समाजलाई पैसाको जोहो गर्न यही फलको खेती गर्ने आइडिया आयो । सेती नदीको डिलमा रहेको रामघाटस्थित समाजको कार्यालयसँगै रहेको जमिनमा ड्रागनफ्रुटको खेती गर्न पाए कार्यालय सञ्चालनमा सहज हुने जुक्ति निकाले पुनले । उनी समाजका कोषाध्यक्ष पनि हुन् ।

शेरबहादुरको सोंचलाई साथ दिन निस्किए गमबहादुर पुर्जा । गत भदौको ५ गते उनीहरुले निकालेको आइडियालाई समाजको बैठकमा राखेपछि पारित पनि भयो । आक्कलझुक्कल ड्रागनफ्रुटबारे सुनेका उनीहरुले युट्युबमा खोजी गरे । खोजी गर्दा काठमाण्डौं र काभ्रेमा यसको खेती भइरहेको जानकारी पाएपछि नातामा ज्वाँइ–जेठान उनीहरु उतै हानिए । त्यसो त राजनीतिबाट दिक्क भएर लोकेन्द्र बिष्ट मगरले पश्चिममा यसकै खेति गरिरहेको चाल पाएपछि उनीहरुमा झनै उर्जा थपियो । उनीहरु काठमाण्डौंमा डा. जगन्नाथ राईलाई भेट्न पुगे ।

राईले २० वर्ष अघिनै भियतनामबाट ड्रागनफ्रुट नेपाल भित्र्याएका हुन् । राईबाट पाएको सल्लाह लिएर उनीहरु काभ्रे पुगेर ड्रागनफ्रुटको व्यावसायिक खेती हेरेर फर्किए । युट्युबमा थप खोजी गर्दा चितवनको दिव्यनगरमा भइरहेको व्यावसायिक खेतीबारे जानकारी पाएपछि समाजको टोली उतै हान्नियो ।

दिव्यनगरमा फलले लटरम्म क्याक्टस प्रजातिको खेती र यसको फाइदा देखेपछि टोली फर्किएर समाजघरनजिक रहेको थप जमिनलाई प्रयोग गर्दै ड्रागनफ्रुटको सपना देख्न थाले । समाजको सपनालाई साकार पार्न दिव्यनगरको फार्म अघि सरेपछि अहिले समाज करिब ८ रोपनी जमिनमा खेती गर्न कस्सिएको छ ।

 

 

अर्थकै अभाव झेलिरहेको समाजले आफ्ना सदस्यहरुसँग कुरा राखेपछि हाल ४० जनाले सघाउने प्रतिबद्धता जनाएका छन् । कोषाध्यक्ष पुन भन्छन् ‘समाजमा पैसा छैन, व्यावसायिक खेती गर्न प्रस्ताव पास भएपछि ४० बढी सदस्यले सहयोग गर्ने वाचा गर्नु भएको छ ।’ समाजले सोही वाचालाई विश्वास गर्दै काम अघि बढाएको हो ।

समाजकी अध्यक्ष राजकुमारी पुनले ड्रागनफ्रुटको सपनालाई जसरी पनि पुरा गराउने आश्वासन दिएपछि हाल सिमेन्टको पिल्लर गाड्ने काम भइरहेको छ । ‘पैसा जति उठ्छ त्यसैबाट काम अघि बढाउँदैछौं’ कोषाध्यक्ष पुनले भने ‘आँटियो, अब जसरी पनि पुरा गर्ने हो ।’ पुनका अनुसार दिव्यनगरमा प्रति बेर्ना ३ सय रुपैयाँका दरले २५ सय बेर्ना अर्डर गरिसकिएको छ । फागुन लागेपछि बेर्ना ल्याएर रोप्ने योजना रहेको उनले सुनाए ।

 

 

ड्रागनफ्रुट ३ प्रकारको हुने भएपनि समाजले बाहिर रातो, भित्र सेतो र बाहिर रातो, भित्रपनि रातो हुने प्रजातिको बिरुवा लगाउने भएको छ । जसमध्ये पछिल्लो प्रकार केही महंगो पर्छ । पोखरामा ड्रागनफ्रुटको बजार राम्रो रहेको ठान्छन् समाजका अर्का सदस्य भीमप्रसाद तिलिजा । समूहमा खेती गर्नेमात्र हैन छोरा नातीलाई पनि ‘माटो छुवाउन’ र आत्मनिर्भर बनाउन समाजले पहल गरेको तिलिजा बताउँछन् ।

ड्रागनफ्रुटको बिरुवा रोपेपछि १ देखि डेढ वर्षभित्र फल लाग्न थाल्छ । अझ हेटौंडामा बेर्ना सारेको ८ महिनामै फल लाग्न थालेको सुनेर हर्षित छ समूह । ‘त्यहाँको हावापानी अनुकुल भएर पनि होला छिट्टै फल लागेको’ पुन भन्छन् ‘यहाँ पनि बलौटे र पानी नजम्ने भूगोल छ तर अलि चिसो भएकाले डेढ वर्ष लाग्ला ।’

 

 

‘सेतीको डिलमा देखेको ड्रागनफ्रुटको सपना पुरा होला ?’ उनै पुन भन्छन्, ‘प्रकृति निर्मम भइदिएन भने सपना अवश्य पुरा हुन्छ ।’ उनको भनाई यहाँ हुने वर्षा र असिनाप्रति लक्षित थियो ।

समुन्द्री सतहबाट ८ सयदेखि १२ सय मिटरको उचाइँमा ड्रागनफ्रुटको खेती गरिँदै आइएको छ । क्यान्सरका बिरामीलाई लाभदायी मानिने यो फल जुनसुकै उमेर समूहलाई पनि फाइदाजनक छ । यसमा ३० प्रकारका भिटामिन उपलब्ध हुने जानकार बताउँछन् ।

स्वादमा अमिलो र गुलियोको सम्मीश्रण रहने ड्रागनफ्रुट पोखरामा प्रतिगोटा ३ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । यसको सकारात्मक पक्ष भनेको यो फल टिपेपछि ६ महिनासम्म ताजै रहन्छ ।

कमेन्टहरु
Loading...