प्रधानमन्त्री ओलीद्वारा बुधबार साँझ ५ बजेका लागि संवैधानिक परिषदको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक आह्वान गरेका छन् । बुधबार साँझ ५ बजेका लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको बैठक बोलाएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिएका हुन् । यस अगाडि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदले विभिन्न निकायहरुमा गरेको नियुक्तिलाई फिर्ता पठाएका थिए । सभामुख सापकोटाको यो कदमप्रति राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भने आपत्ति प्रकट गरेका थिए ।

संवैधानिक परिषदमा प्रधानमन्त्री हुने गर्छन् । यसका साथै परिषदमा राष्ट्रिसभाका अध्यक्ष, सभामुख तथा उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायधीश सदस्य हुन्छन् । प्रधानमन्त्री ओलीले तत्काल कायम रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रावधान राखेर संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका थिए ।

कानुनी प्रावधान अनुसार परिषदमा गणपुरक संख्याका लागि अध्यक्ष तथा ४ जना अन्य उपस्थित हुनुपर्ने रहेको थियो । प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश अनुसार अब ३ जनामात्र उपस्थित भएर पनि संवैधानिक परिषदमा हुने निर्णय गर्न सक्ने व्यवस्था रहेको छ ।

सोही अध्यादेश अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख सहित प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष तथा प्रधानन्यायधीशको सहभागितामा बैठक बसेर संवैधानिक निकायमा नियुक्ति सिफारिस गरिएको थियो । यसैबीच प्रमुख प्रतिपक्षी दल नेनाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई संवैधानिक परिषदको बैठकका विषयमा जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

कमेन्टहरु
Loading...