जनकपुरधाम । प्रधानमन्त्री ओलीले देशको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन निर्माणमा सफलताको टुङ्गोले देशलाई झलमल्ल पार्न सकिने दृष्टान्त प्रस्तुत गरेको बताएका छन् ।
ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटनको अवसरमा सो कुरा बताएका हुन् ।
‘अब जति बिजुली चाहियो त्यसको आधार निर्माण भएको छ’, उनले भने । पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री ओलीले ढल्केवर–मुजफ्फरपुर र अरूण तेस्रो जलविद्युत् परियोजनाको शुभारम्भ गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेपालले आगामी दिनमा भारत र बङ्गलादेशमा विद्युत् बेच्ने पूर्वाधार तयार भएको जनाउँदै विद्युत् बेच्नेबारेमा गम्भीर छलफल भइरहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीले विसं २०७२ मा परिकल्पना गर्नुभएको योजनाले साकार रूप लिएको जनाउँदै अब उज्यालो नेपालको सपनासँगै ऊर्जा वृद्धि, आयातनिर्यात गरी आय स्रोत वृद्धि र आधुनिक नेपाल निर्माणको आधारभूमि तयार भएको बताए ।
ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सबैभन्दा बढी क्षमताको सबस्टेशनको निर्माण ऐतिहासिक उपलब्धि भएको बताए ।