केपी र प्रचण्डबाट हैरान हुनुभयो, अब कांग्रेसमा स्वागत छ : नेता शर्मा

दिपक के श्रेष्ठ

नेपाली कांग्रेसका कास्कीका नेता शुक्रराज शर्माले नेकपाका केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकर्ताहरु हैरान भएकाले उनीहरुलाई नेपाली कांग्रेसमा आउन आव्हान गरेका छन् ।

प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध कांग्रेसले देशभर आयोजना गरेको विरोधाको कार्यक्रमअनुरुप पोखरामा आयोजित सभालाई सभालाई सम्बोधन गर्दै नेता शर्माले भने ‘ओली र प्रचण्डबाट तपाइहरु हैरान हुनुभएको छ, तपाइहरुलाई नेपाली कांग्रेसमा स्वागत छ ।’

कम्युनिष्टले प्राप्त गरेको बहुमतले लोकतन्त्रमाथि नै खतरा भएको शर्माको टिप्पणी छ । मुलुकमा सबैले लोकतन्त्रलाई आत्मसाथ गरेपनि कांग्रेसले मानेको लोकतन्त्र कम्युनिष्टको भन्दा फरक रहेको बताउँदै उनले अब जनतालाई नझुक्किन आग्रह गरे । ‘तपाइहरु नझुक्किनु होला’ शर्माले भने ‘कांग्रेसले मानेको लोकतन्त्र लोकको तन्त्र हो ।’

जनताको पक्षमा पटकपटक आन्दोलन गरेको कांग्रेस कम्युनिष्ट नामक तानाशाहसँग नझुक्ने भन्दै कांग्रेस पुनः एकपटक आन्दोलनमा होमिएको बताए । कांग्रेसलेमात्रै युवा, किसान र आमजनताको भविष्यलाई सुनिश्चित गर्ने उनको दाबी थियो ।

सभालाई कास्की कांग्रेस, तरुण दल, नेविसंघ, मुस्लिम, दलित, मगर संघलगायतका नेताले सम्बोधन गरेका थिए । नेपाल महिला संघ कास्कीको अध्यक्ष कोपिला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमलाई कांग्रेसका १२ भातृ संगठनले आयोजना गरेको थियो ।

कमेन्टहरु
Loading...