काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठक आज सोमबार बस्दै छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त बैठक बोलाइएको हो । निर्वाचन आयोगको निर्णय, सडक आन्दोलन लगायतका विषयमा यो बैठकमा छलफल हुनेछन् ।
प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद्को विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ । समूहले संसद पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ ।
समूहले यसअघि बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको छ । यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।
यसअघि पुस ७–९ मा बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बसेको थियो । त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।