पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ गते आयोजना गर्ने जनसभामा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने सम्भावना रहेको बताएका छन् । आज उक्त समुहले काठमाडौंको माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले चितवनमा राम मन्दिर बनाउने भन्दै हिंडेको र उनी कम्युनिस्ट नभएको उनले आरोप लगाएका छन् । ओलीले गरेको संविधान पिरीतका कार्यहरु सफल हुन नदिने समेत उनले बताएका छन् । न्यायको पक्षमा उभिँदा समे ओली पक्षका व्यक्तिहरु उनीहरुमाथि नै झम्टिन खोज्ने नेता पाण्डेको आरोप थियो ।
ओली अब कम्युनिस्ट नभएको र धर्मको आडमा नेपाली नागरिकलाई अल्मल्याउन खोजिएको समेत उनले आरोप लगाएका छन् । ‘ओली चितवनमा पुगेर राममन्दिर बनाउने घोषणा गरेर आए, म भन्न चाहन्छु, ओली अब कम्युनिस्ट रहेनन्, अब मन्दिर र देउताको भाकल गर्न अग्रसर छन्, उनीहरु अरुलाई लड्कारिरहेका छन् ।’ उनले भने, ‘केही दिन अगाडि पशुपतिमा गएर सवा लाख बत्ती बालेर आजसम्म मैले पशुपति आउन जानेनछु, केही गर्न सकेनछु, भनेर पुजापाठतर्फ लागेका छन् । अब ओली नेपालमा कम्युनिस्ट आनन्दोलनलाई अगाडि बढाउन होइन, नयाँ पीठाधीष बनेर धर्मका कुरा गरेर फेरी नेपाली राजनीतिमा जनतालाई अल्मल्याउन सक्छु कि भन्ने प्रयास गरिरहेका छन् ।’
ओलीले माघ २३ गते आयोजना गर्ने जनसभामा समेत सबै राजावादीहरु सहभागी हुने आफूले सुनेको पाण्डेले बताएका छन् । राजावादीहरुको समभागिताका लागि सबैलाई उर्दी जारी गरिएको उनको दावी थियो । ‘ओलीलाई अहिले सारा प्रतिक्रियावादीहरुले साथ दिइरहेका छन् ।’