पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य किरण गुरुङले केपी ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा अन्नपूर्ण गाउँकमिटीको आयोजनामा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री समेत रहेका गुरुङले सबैलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरे ।
उनले आधिकारिकताको टिका लगाएपछि पनि अलमलिनु भनेको आफै पछि पर्न भएको बताए।
निवर्तमान मन्त्री जगत विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक भएको दावी गरे ।
उनले बिकासको गति देखेर आत्तिएकाहरू लाई फेरि पनि भोटको माध्यम बाट झापड हान्नुपर्ने बताए ।
गण्डकी प्रदेश सभाका सांसद राजिव पहारीले प्रचण्ड माधव पक्ष केपी ओलीको लोकप्रियता देखेर सहन नसकी आफ्नै नाङ्गिएको बताए ।
उनले आगामी चुनावमा जितेर देखाउन चुनौती दिए ।
नेकपा कास्कीका नेता दामोदर बैरागीले प्रधानमन्त्री केपी ओली नेतृत्वमा सुरु भएको विकासको यात्रालाई प्रचण्ड माधवको तिकडम रोक्न नसक्ने बताए ।
उनले अबको चुनावपछि फेरि ओलि कै नेतृत्वमा सरकार बन्ने दावी गर्दै समृद्ध नेपाल निर्माणको सपना पूरा गराइ छाड्ने बताए ।
उनले कार्यकर्ताहरू नअलमलिकन निर्वाचनमा जुट्नुपर्ने बताए ।
गाउँ कमिटी सचिव लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेकपा कास्कीका युवा नेता विष्णु बहादुर केसीले गरेका थिए भने स्वागत मन्तव्य विवेक देवकोटाले राखेका थिए ।
स्वागत मन्तव्य राख्दै देवकोटाले ओलीको बढ्दो लोकप्रियतासँग डराएर आफ्नै ओछ्यानमा पिसाब फेर्ने प्रचण्ड माधव नेपालहरू शरिरमा चिसो पस्न थालेपछि निर्वाचन आयोगले आधिकारिकता दिएको ओली नेतृत्वको नेकपामा आउने बताए ।
भेलामा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरूङ, पुराना कम्युनिष्ट नेता जगन्नाथ पौडेल ,अन्नपूर्ण गाउंपालिका वडा ३ नम्बरका अध्यक्ष चन्द्र बहादुर गुरूङ , युवा संघ केन्द्रीय सदस्य शिव अधिकारी , अनेरास्ववियु केन्द्रीय सदस्य भरतमान तमु , कलाकार सुरेन्द्र गुरूङ लगायतले बोलेका थिए ।
भेलामा करिब ५ सय कार्यकर्ता उपस्थित रहेको थियो ।