काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षले निर्वाचन आयोगलाई दल दर्ताको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । निर्वाचनको तयारीका विषयमा छलफल गर्न भन्दै आयोगले आज नेकपा ओली तथा प्रचण्ड–नेपाल दुवै पक्षलाई बोलाएको थियो । सोही क्रममा ओली पक्षले निर्वाचनका लागि दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोग समक्ष आग्रह गरेको हो ।
छलफलमा ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरुले आयोगका पदाधिकारीहरुसंग निर्वाचनका विषयमा छलफल गरेका थिए । सर्वोच्च अदालतले हालसम्म अन्तिरम आदेश जारी नगरेकाले निर्वाचनको प्रक्रिया अगाडि बढाउन नेताहरुले आयोगलाई आग्रह गरेका छन् । ओली पक्षका नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले अन्यथा आदेश नगरेको अवस्थामा आफूहरु निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको आयोगलाई जानकारी गराएको बताएका छन् । दल दर्ताको प्रक्रिया अगाडि बढाएको खण्डमा निर्वाचन आयोगलाई आफूहरुको सहयोग रहने उनको भनाई थियो ।
यता निर्वाचन आयोगले नेकपाको दुवै पक्षलाई छलफलका लागि बोलाएको भएपनि प्रचण्ड–नेपाल पक्षको नेता भने सहभागी भएनन् । उक्त समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल सहितका प्राय नेता तथा कार्यकर्ताहरु राजनीतिक कार्यक्रमका लागि काठमाडौंभन्दा बाहिर रहेकाले छलफलमा सहभागी हुन नसकेको बताइएको छ । कार्यक्रमका लागि राजधानी बाहिर रहेकाले माघ १८ गतेभन्दा अगाडिको छलफलमा सहभागी हुन नसक्ने उक्त समुहले निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।