खोप लगाउन थालियाे, तर राेकिएन विषवमन

 

प्राणघातक मानिएको कोरोना भाइरसले विश्वमै प्रभाव पारेसँगै विज्ञान र अनुसन्धानको क्षेत्रमा कार्यरत चिकित्सक एवं वैज्ञानिकका समूहले खोप आविष्कार गरेपछि दुनियाँले केही राहतको श्वास फेरेका छन् । विश्वका गरिब र कमजोर राष्ट्रमात्र हैन धनी र प्रविधिमा पहुँच भएका देशका नागरिकले पनि ज्यान गुमाएकाकारण कोरोना भाइरस सबैकालागि प्राणघातक मानिएको हो । भाइरसको विश्वव्यापी असर पर्न थालेको एक वर्षभित्रै खोपको सफल परीक्षण भएपछि यसको उत्पादन र बजारीकरण सुरु गरिएको छ । यद्यपि, गरिब मुलुकका लागि ‘आकाशको फल आँखा तरि मर्’ भने झैं हुने अवस्थाबीच पनि नेपालमा कोरोना भाइरस विरुद्धको खोप भित्रिएको छ । छिमेकी मुलुक भारतको सहयोगमा भित्रिएको दश लाख डोज खोप नेपालमा लगाउन थालिएको छ । तर अनुदानमा खोप भित्रनु अगावै यसबारे अनर्गल प्रचार गरी भ्रम फैलाउन थालिएको छ ।

बुधबारदेखि सुरु भएको खोप अभियानमा प्रधानमन्त्रीदेखि कोरोनाको उपचारमा संलग्न चिकित्सकहरुले लगाएर सार्वजनिकरुपमै सकारात्मक सन्देश दिइरहँदा पनि यसबारे विषवमन गर्ने काम रोकिएको छैन । सामाजिक सञ्जालमा सहजै पहुँच पुग्ने समयमा जो कोहीले यसको प्रयोगका नाममा दुरुपयोग गरेको देखिएको छ । खोप उत्पादन कम्पनीले पटकपटकको परीक्षण गरेर यसको प्रभावकारिता पुष्टि गरेपछि विश्व स्वास्थ्य संगठनले नै प्रमाणित गरेपछि कोरोना खोपको प्रयोग सुरु गरेको तथ्यलाई नजरअन्दाज गरी सरकार र दलको विरोध गर्ने नाममा भइरहेका कूप्रचार वास्तवमै निन्दनीय छ । दश लाख डोजले ५ लाख मानिसलाई खोप लगाउन पुग्छ । यसबीच कर्णाली प्रदेशका केही जिल्लामा खोप लगाएकाहरुको स्वास्थ्यमा प्रभाव परेको पाइएपनि हाल उनीहरुको अवस्था सामान्य रहेको जनाइएकाले खोपले कोरोनाबाट बचाउन सक्छ भनेर विश्वास गर्न सकिन्छ ।

देशको जनसंख्या, कोरोना प्रभावितको संख्यालाई मध्यनजर गर्ने हो भने भारतबाट अनुदानकारुपमा प्राप्त खोपको डोज ‘हात्तीको मुखमा जिरासरह’ हो । सबै नागरिकलाई कोरोनाबाट बचाउन सरकारले दातृ निकायको भर पर्नै पर्छ । थोरै डोज किनेर धेरै डोज सहयोग वा अनुदानबाट भित्र्याउन राज्यले पहल गर्नै पर्छ । सुरुवाति दिनमा धेरथोर असर देखिए पनि आगामी दिन कोरोनाविरुद्धको खोप थप प्रभावकारी हुनेमा शंका गरिरहन पर्दैन । तर यसो भन्दैमा खोपकै प्रतीक्षा गरेर कोरोनाबाट बच्न सकिन्छ भन्दै दैनिकी तलमाथि गर्न थालियो भने यसको परिणाम नकारात्मक नै हुनेछ । यसकारण सरसफाई, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम राख्दै प्रत्येक व्यक्तिले भीडभाटबाट बच्न यथाशक्य पहल गर्नु जरुरी छ ।

नोटः सम्पादकीयमा प्रयोग भएको तस्बिर तुलसा कार्कीको हो । कार्की ललितपुरस्थित पाटन अस्पतालकी सरसफाई कर्मचारी हुन् । खाेप लगाएपछि कार्कीले भनेकी छिन् ‘म ठिक छु, खुशी छु ।’ तस्बिर साैजन्यः युनिसेफ नेपाल

कमेन्टहरु
Loading...