पोखरा । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् । पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा ९० लाख ७१ हजार ५ सय ठगी गरेको अभियोगमा गत माघ १३ गते पोखरा–१० रामबजारबाट विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताएका छन् ।
अभियुक्त विकले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिकालगायतका देशमा धेरै मानिस रोजगारको लागि पठाइसकेको भनेर विश्वास दिलाइ कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायतका जिल्लाका युवालाई ठगी गरेको पीडितले दिएको निवेदनबाट पुष्टि भएको प्रहरीले जनाएको छ । पीडितहरुलाई विश्वासमा पार्नका लागि आरोपित विकले विभिन्न सहकारी संस्था र विकास बैंकको चेकसमेत दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रनाउ हमालले जानकारी दिएका छन् । पक्राउ परेका विकलाई जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरअन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । रासस