- सौगात पोखरेल
हिजो एक समय थियो । मान्छेहरु गाउँतिर कम शहरतिर ज्यादा थियो । आज पनि देशका धेरै ग्रामिण भुभागहरुमा गाउँ रित्तिदै गएको समाचारहरु नसुनिएका र नपढिएका होईनन् । घान्द्रुकमा पनि केहि समय पहिले घर कुर्ने मान्छे पाउन पनि हम्मे हम्मे थियो । तर आज घान्द्रुकबाट बसाईहरुको संख्या करिब करिब शुन्यमा झरेको छ ।
हिजो माओबादी द्धन्दको कारण भनौँ वा बिकासको धिमा गतिले शहर झरेका र बिदेश भासिएकाहरु आज आफ्नै गाउँ फर्कि आएका छन् । देश बिदेशमा कमाएका धेरथोर पैसा आफ्नै जन्मभुमिका लगानी गरेर पर्यटन बिकासमा लगाएका छन् । कोरोना महामारीले पर्यटन व्यबसायलाई ठुलो क्षति पु¥याए पनि घान्द्रुकेहरु माघ १ गतेबाट फेरी जुर्मुराउन खोजिरहेका छन् । केहि समयमा अगाडी बिदेशमा पसिना बगाएर पोखरा फर्किएका बिक्रम गुरुङलाई फेरी जन्म घरले बोलायो र उनी नयाँ होटल खोल्ने योजनासहित घान्द्रुक फकिए । बिक्रम भन्छन् ‘हामी पसिना बगाउनका लागि बिदेश गएका थियौँ । बिदेश बसेर धेरथोर केहि कमाएको थिए । त्यहि कमाइलाई लगानी गरेर एउटा होटल बनाएको छु । होटलको धेरै काम सकियो । अव अलिकति काम बाँकी छ । त्यो पनि एक महिनामा सकिएका । बैशाखमा औपचारिक रुपमा होटल संचालनमा ल्याउने योजना छ । त्यो बेलासम्म यो कोरोना महामारी पनि कम होला ।’
बिक्रमजस्तै धेरै धान्द्रुकेहरु आफुले बिदेशमा पसिना बगाएर कमाएको पैसा ल्याएर गाउँमा नै लगानी गरिरहेका छन् । कोरोना महामारीले केहि समय पर्यटनका लागि रोक लगाएको भए पनि माघ १ गतेबाट भने कास्कीको पर्यटकीय गाउँ घान्द्रुक पर्यटकका लागि खुल्ला गरिएको घान्द्रुक होटल व्यबसायी समितिका अध्यक्ष किसम गुरुङले बताए । किसम भन्छन् ‘कोरोना महामारी नफैलियोस भनेर हामीले पर्यटकहरुको आगमनमा महामारीको समयमा रोक लगाएका थियौँ । अहिले स्वास्थ्य सर्तकता अपनाउँदै पर्यटकलाई निमन्त्रणा गरिरहेका छौँ । अब घान्द्रुकको पर्यटन पुरानै लयमा फर्कने कुरामा बिस्वस्त छौँ । हामी तपाईंहरुको मिडियामार्फत सबै पर्यटकहरुलाई घान्द्रुक खुल्ला रहेको जानकारी दिन चाहन्छौँ ।’
करिब आठ सय घरधुरी रहेको घान्द्रुकमा अहिले सबै जसो घरमा मान्छे भेटिन्छन् । आजकाल घान्द्रुक फर्कनेहरुको लर्को नै लागेको छ । घान्द्रुकमा जस्तै देशका अन्य गाउँहरुमा पनि स्थानियहरु फर्किने हो भने संमृद्धिको सपना धेरै परको बन्थेन ।