पोखरा । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले नेपाल सरकारले उपलब्ध गराउने तलब भत्ता तथा अन्य सेवा सुविधाको रकम सामाजिक कार्यका लागि खर्च गरेका छन् । थापाले करिब साढे १२ लाख तथा केही व्यक्तिगत रकम समेत विभिन्न विकास निर्माण तथा सामाजिक कार्यका लागि खर्च गरेको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएका हुन् ।
सांसद थापाले प्रदेशसभा सदस्यको हैसियतमा ८ लाख ५९ हजार ८ सय ८६ रुपैयाँ प्राप्त गरेका थिए । सो रकममा आफ्नै व्यक्तिगत तर्फबाट ३ लाख ८७ हजार १ सय ७२ रुपैयाँ थपेर सामाजिक तथा विकास निर्माणको कामका लागि उक्त रकम खर्च गरेका हुन् । उनले आज आयोजित पत्रकार सम्मेलनमा २०७६ माघ १ देखि २०७७ पुस मसान्तसम्ममा खर्च भएको रकम सार्वजनिक गरेका छन् ।
सांसद थापाले विषेश गरेर कोरोनाबाट प्रभावितका लागि उक्त रकम खर्च गरेका छन् । कोरोना महामारीबाट प्रभावित मजदुर, एकल महिला, शारीरिक रुपमा अपांगता भएका व्यक्तिलाई सहयोग गरेका थिए । त्यस्तै रोटरी क्लब अफ पोखरा न्युरोडमार्फत् सेनेटरी प्याड भेन्डिङ मेसिन खरिदका लागि, पोखरा ४, ८ र ९ को वडा कार्यालयहरुमा अटोमेटिक सडक बत्ती जडानका लागि सहयोग गरेको जानकारी दिएका छन् ।
यस्तै सांसद थापाका अनुसार उनले हातेमालो नागढुंगा आमा समुहमार्फत् लोकबाजा तालिम तथा वाद्य सामान खरिदका लागि, पोखरा ९ मा रहेको सहारा टोल विकास संस्थाको भवन निर्माणका लागि, पोखरा ३३ मा रहेको कालिका माविका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खानेपानी मोटर निर्माणका लागि, पोखरा १७ मा रहेको सिद्धबराह युवा क्लबको खेलकुद सामाग्री खरिदका लागि समेत रकम उललब्ध गराएको उनले बताएका छन् । सांसद थापाले चण्डिका आमा समुह पोखरा ९, पोखरा २७ कुमाल गाउँमा रहेको कल्याण आधारभूत विद्यालय, कास्कीकोटको कालिका माविलाई उक्त रकम सहयोग गरेका छन् ।
कार्यक्रममा सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा देशले ठूलो क्षति बेहोर्नुपरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीको राजनीतिक लहड, तुस तथा मतभेदका कारण प्रतिनिधिसभा विघटन गरिएको उनको भनाई थियो । प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको समेत उनले बताए ।
मुलुकमा गणतन्त्र आइसकेपछि पहिलोपटक २ तिहाई बहुमतका साथ प्रधानमन्त्री बनेका ओलीको कार्यकालमा नै भ्रष्टाचार सहित हत्या, हिंसा, बलात्कार लगायतका घटना मौलाउादै गएको सांसद थापाले आरोप लगाएका छन् । भ्रष्टाचार सहितका घटना नियन्त्रणमा नलागेर सत्ता तथा पदको खेलमा लागेर सरकार ढाल्ने तथा बचाउने खेलमा अहिलको सरकार लागिरहेको सांसद थापाले बताएका छन् ।