पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी विभाजन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रचण्डको बराबर हात भएको बताएका छन् । आज आयोजित एकता अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले लोभलालचले गर्दा दुवै नेताहरुले पार्टीलाई फुटको संघारमा पु¥याएको आरोप लगाएका हुन् । प्रचण्ड तथा केपी ओली कहिले पनि एकताको पक्षमा नभएको तर आफ्नै जोडबलमा एकता भएको उनको दावी थियो । पार्टी एकता नगरेको खण्डमा सेनापति भएपनि संनिक सबै सक्किने उनले बताए ।
उपाध्यक्ष गौतमले कानुनी रुपमा नफुटेको भए पनि नेकपा व्यवहारिक तथा राजनीतिक रुपमा फुटिसकेको स्वीकार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अन्य सबै पार्टी एकताको पक्षमा रहेको उनको दावी थियो । अब गौतम कुनै एक समुहमा लाग्छन् भन्ने हल्लाको पछि नलाग्न उनको आग्रह छ । आफू ओली तथा प्रचण्ड–नेपाल दुवै समुहमा नलाग्ने तर एकता अभियानलाई भने जारी राख्ने स्पष्ट पारेका छन् । आफू समाजवादको पक्षमा नै रहेको उनले बताए । फुटेका पार्टीले कहिले पनि शक्ति प्रदर्शन नगर्ने उनको भनाई छ ।
पार्टी फुट्ने अवस्था हुँदा कोही पनि खुसी नभएको उनले बताए । कांग्रेस, मसाल लगायतले अहिले पनि पार्टी फुट्न हुँदैन भनिरहेको उनको भनाई छ । ‘यस्तो ठूलो पार्टी फुट्न हुँदैन भनिरहेका छन् ।’ उनले भने । आफूले सञ्चालन गरेको एकता अभियानलाई राम्रो भइरहेको उनको दावी थियो । समाचारमा आफूले अर्कै पार्टी बनाउन लागेको भन्ने आएको भए पनि हाल नयाँ पार्टी स्थापना नगरेको उनले स्पष्ट पारेका छन् ।
अबको ६ महिनामा यो अभियानका क्रममा काठमाडौंमा नअट्ने गरेर नागरिकले साथ दिने उनको दावी रहेको छ । पार्टी एकता नभएको खण्डमा केन्द्रीय कमिटीको बैठक बसेर निर्णय हुने उनले जानकारी दिएका छन् । एकता नभएसम्म यो अभियान जारी राख्ने उपाध्यक्ष गौतमले बताए । हाल ठूला नेता विभाजन भएको तर अन्य नेता तथा कार्यकर्ता दुखित भएको दावी गरे । ठूला नेता नआएपनि दोस्रो र तेस्रो तहका नेतालाई लिएर एकता अभियान जारी राख्ने उनले बताए । नयाँ किसिमले भएपनि पार्टी एकता हुने उनको दावी छ ।