बाढी पहिरोमा क्षति पुगेका ५ सय ९० घर पुनःनिर्माण गरिने

बाग्लुङ । बाग्लुङमा गत साउनयता विपद्का घटना धेरै भएका छन् । साउनयता बाग्लुङमा ३७ जनाको ज्यान गएको छ भने १७ अझै बेपत्ता छन् । यस्तै २ सय २९ घरमा पूर्णरूपमा क्षति भएको छ भने २० घरमा आंशिक क्षति भएको छ । बाग्लुङमा ५ सय ९० घर जोखिममा परी विस्थापित भएको भन्दै पुनःनिर्माण गर्न आवश्यक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोले क्षति पुर्याएको, भासिएको, पहिरोले पुरेको र चर्केको गरेर ५ सय ९० घर पुनःनिर्माणका लागि विपद् व्यवस्थापन समितिमा स्थानीय तहले सिफारिस गरेका हुन् । साउनयता बाढीपहिरोबाट ३५ र चट्याङबाट २ जनाको ज्यान गएको थियो भने बाढी पहिरोमा अझै १७ हराइरहेका छन् । समितिले बाढी पहिरोमा बेपत्ता १७ जनालाई मृत्युसरह राहतसमेत उपलब्ध गराएको जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाग्लुङमा साउनयता घटेका विपद्का घटनामा १ करोड ३७ लाख ७५ हजार राहत रकम हस्तान्तरण गरिसकेको जनाएको छ । सोमध्ये संघीय सरकारबाट प्राप्त ९० लाख राहत वितरण गरेको र पूर्ण क्षति भएको २ सय २९ घरलाई १८ लाख ८२ हजार ५ सय राहत रकम हस्तान्तरण गरिसकिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बेपत्ता भएका १७ जनाको परिवारलाई समेत अहिलेसम्म बाढी पहिरोमा खोजतलास गर्दा फेला नपरेका कारण गृह मन्त्रालयको निर्देशनानुसार मृत्यु समान राहत रकम हस्तान्तरण गरेको बताएका छन् ।

यस्तै गण्डकी प्रदेश सरकारले समेत मृत्यु भएका ३७ र बेपत्ता भएका १७ जनाको परिवारलाई जम्मा २७ लाख ५० हजार रकम प्रदान गरिसकेको छ । यस्तै आंशिकरूपमा क्षति भएका २० घरलाई प्रदेश सरकारले १० हजारका दरले २ लाख राहत वितरण गरेको छ ।

विपद् व्यवस्थापन समितिले बाढी पहिरोका कारण घरबास गुमेका अहिले आफन्त, विद्यालय तथा सामुदायिक भवनमा आश्रय लिएर बसेको जनाएको छ । विपद्बाट साउनयता जिल्लाका १० वटै पालिकामा ५ सय ९० घरपरिवार विस्थापित भएको र उनीहरुको घर पुनःनिर्माण गर्न पारित गरी गृह मन्त्रालय पठाइसकेको प्रमुख जिल्ला अधिकारी न्यौपाने बताएका छन् ।

गृह मन्त्रालयले बाग्लुङलाई संकटग्रस्त क्षेत्रका रूपमा घोषण गरी पुनःनिर्माणको समेत काम थाल्न लागेको छ । बाग्लुङमा साउनयता घटेका विपद्का घटनामध्ये ढोरपाटनमा सबैभन्दा बढीको मृत्यु भएको थियो ।

ढोरपाटनको भूजीखोलामा आएको बाढीमा मात्रै २२ जनाको ज्यान गएको थियो भने १६ बेपत्ता भएका थिए । यस्तै तमानखोला, निसीखोला र जैमिनी नगरपालिकासहित समग्र जिल्लामा विपद्का घटनामा वृद्धि भएका थिए । बाढी पहिरोका कारण घर, गोठ, विद्यालय, खेलमैदान, खानेपानी, खेतीयोग्य जमिन जोखिममा रहेकालाई स्थानीय तहबाट आएको सिफारिसका आधारमा विपद् व्यवस्थापन समिति, आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेश, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाग्लुङ, भू तथा जलाधार कार्यालय पर्वतमा पुनःनिर्माण, पुनःस्थापना, मर्मतसम्भार तथा ग्याविन तार जालीका लागि सिफारिस गरिएको छ । रासस

कमेन्टहरु
Loading...