कोरोनाविरुद्धको खोप नेपालमा पहिलोपटक टेकु अस्पतालका निर्देशक डा.राजभण्डारीले लगाउने

काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो खोप नेपालमा टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले लगाउने भएका छन् । भोलिबाट देशव्यापी रुपमा सुरु हुने कोरोनाविरुद्धको खोप अभियानमा डा.राजभण्डारीले पहिलो खोप लगाउने भएका हुन् ।

भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे भर्चुअल माध्यमबाट टेकु अस्पताल, एपिएफ तथा टिचिङ अस्पतालबाट खोप अभियानको उद्घाटन गर्दै छन् । ३ वटा अस्पतालमा एकैपटक कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भए पनि सुरुमा टेकु अस्पतालबाट नै सुरु हुने निर्देशक डा.राजभण्डारीले जानकारी दिएका छन् ।

आफूसहित टेकु अस्पतालमा सम्पूर्ण स्वास्थ्यकर्मीले खोप लगाउने उनले बताएका छन् । डा.राजभण्डारी पछि सुरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनका अनुसार टेकु अस्पतालबाट करिब २५ सय प्रन्टलाइनरलाई खोप लगाइने भएको छ । फ्रन्टलाइनरमध्ये अस्पतालका कर्मचारी सहित काठमाडौं महानगरपालिकाका स्वास्थ्यकर्मी तथा सफाइकर्मी रहेका छन् ।

टेकु अस्पतालमा बिहान १० बजेबाट दिउँसो २ बजेसम्म खोप लगाइने छ ।

कमेन्टहरु
Loading...