काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको संकल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन् । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब ८ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् । सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए ।
पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् । सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी थिए । रासस