सामुदायिक भवन निर्माणका लागि सहयोग

पोखरा । ब्रेज मेश्रों फिल्म प्रोडक्सन घान्द्रुकद्वारा निर्मित गुरुङ भाषाको चलचित्र भ्रे (पाहुना) का निर्माताहरुले घान्द्रकमा निर्माणधिन रोधीं क्लब सामुदायिक भवनका लागि ५ लाख सहयोग गरेका छन् ।

प्रोडक्सनले आइतवार एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरेको हो । प्रोडक्सनका व्यवस्थापकद्वय अमृत गुरुङ लामा र विशाल गुरुङले सो रकम बराबरको चेक वडाध्यक्ष कुमारप्रसाद गुरुङको रोहवरमा क्लव अध्यक्ष पूर्णप्रसाद गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा भनाई राख्दै वडाध्यक्ष गुरुङले सहयोग प्रति आभार प्रकट गर्दै सामुदायिक भवन निर्माणका लागि वडाको पनि साथ रहने जनाए । उनले कोरोना भाइरस संक्रमणको यो विषम अवस्थामा कार्यक्रमले समुदायमा खुसीको संचार छरेको पनि स्पष्ट पारे ।

वडाध्यक्ष गुरुङले, गुरुङ भाषाको उद्गम थलोको रुपमा घान्द्रुकलाई चिनाउँदै त्यसको प्रचारप्रसारका लागि हुलाक टिकटमा गाउँको तस्विर राख्न पहल भइरहेको धारणा राखे ।  प्रोडक्सन व्यवस्थापक अमृत गुरुङ लामाले जन्मभूमिलाई माया गर्नुपर्ने औंल्याउँदै त्यसकै कडीका रुपमा सहयोग गरेको स्पष्ट पारे । सहयोगको निर्णय पहिल्यै गरेपनि विभिन्न कारणले ढिला भएको उनको भनाई छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय घान्द्रुकका संरक्षण अधिकृत शैलेन्द्रकुमार यादवले धर्म, संस्कृतिको जर्गेना गर्नुपर्ने धारणा राख्दै घान्द्रुकको पहिचान जोगाई राख्न स्थानीयवासी संचेत बन्नुपर्ने औंल्याए ।

क्लब अध्यक्ष पूर्णप्रसाद गुरुङले भ्रे चलचित्रले घान्द्रुकलाई चिनाएको स्पष्ट पार्दै घान्द्रुकको चिनारीका लागि सरोकारवाला सबै सचेत बन्नुपर्ने बताए । उनले सहयोग प्रति आभार प्रकट गर्दै सहयोगको सदुपयोग हुनेमा विश्वास दिलाए ।

सामुदायिक भवनको सदुपयोग गरी अधिकत्तम सामाजिक क्रियाकलाप गर्नुपर्ने उनको भनाई छ । सो कार्यक्रममा क्लबका उपाध्यक्ष जगनप्रसाद गुरुङ, सचिव राजबहादुर गुरुङ लगायतले धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...