काठमाडौं । कोभिड– १९ को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४, कुवेतमा ३, पोर्चुगलमा १ र मलेसियामा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा ज्यान गुमाउनेको संख्या ३ सय २७ पुगेको प्रेस संयोजक, कोभिड– १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली संघका संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।
संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५३ हजार ४ सय ३२ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९५ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यस साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६९ हजार १ सय ८० जना छन् भने २ लाख ६३ हजार ७ सय ३४ जना अर्थात् ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।
१ सातामा औसतमा २ हजार नेपाली संक्रमित
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा २ हजार नेपाली संक्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा ८ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिएका छन् । सोही अवधिमा औसतमा १ महिनाको अवधिमा ४ हजार संक्रमणमुक्त हुने आँकलन गरिएको डा सापकोटाले बताए ।
स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान सुरु भइसके पनि नेपाललगायतका नेपाली भएका कैयौं मुलुकमा खोप अभियान सुरु नभएकाले सावधानी अपनाउन आग्रह गरेको छ । रासस