कमल सुवेदी, पोखरा । विश्वकप छनोट तयारीका प्रशिक्षणमा पोखरा आएको राष्ट्रिय फुटबल टोलीलाई आज पोखरा रंगशालामा स्वागत गरिएको छ । जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले आज पोखरा रंगशालामा कार्यक्रमको आयोजना गरि पोखरामा प्रशिक्षणरत फुटबल, आर्चरी र भारोत्तोलनका खेलाडीलाई स्वागत गरेको हो । हाल रंगशालामा राष्ट्रिय फुटबल टोलीसँगै जापानमा आयोजना हुने ओलम्पिक खेलको तयारीका लागि आर्चरी र भारोत्तोलनको टिम पोखरामा प्रशिक्षणमा रहेको छ ।
स्वागत कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्षमण प्रसाद योगीले प्रशिक्षण गरे बराबरको प्रतिफल दिन खेलाडी समक्ष हुने अपेक्षा राखेका छन् । उनले भने, ‘पोखरा रंगशालाको प्रशिक्षणले खेलाडीको मनोबल बढाओस् सोही अनुसारको प्रतिफल आउनेमा म विश्वस्त छु ।’
त्यसगरी कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य राजेशकुमार गुरुङले राष्ट्रिय खेलाडीहरुलाई गण्डकी प्रदेशको राजधानी पोखरामा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । प्रशिक्षणका लागि पोखरा आएको फुटबल टोलीले पोखरामा माघ २१ गतेसम्म पोखरामा प्रशिक्षण गर्ने कार्यक्रम रहेको एन्फा टिम तयारीका संयोजक मधुसुदन उपाध्यायले जानकारी दिएका छन् ।
यता खेलाडी पनि पोखरा आएर खेल्न पाउँदा उत्साही देखिन्छन् । टिम क्यापटेन विराज महर्जनले पोखरा आउन पाउँदा टोलीका निकै उत्साहित रहेको बताएका छन् । उनी पोखरा जस्तो वातावरणमा प्रशिक्षण गर्न पाउँदा छनोट खेलमा सुखद नतिजा आउनेमा विश्वस्त छन् । त्यस्तै उनले राष्ट्रिय खेलकुद परिषद्ले तत्काल नै खेलाडीका लागि आवश्यक पर्ने प्रशिक्षणमा थप ध्यान दिन आग्रह गरेका छन् । ‘मलाई लाग्छ टिमको मनोवल बढाउन विदेशी खेलाडीसँग प्रशिक्षण गर्न आवश्यक देखिन्छ खेलाडीलाई थप प्रयाक्टिक्स हुन्थ्यो’, उनले भने ।
टिमको तयारी बारेमा फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पोखराको मैदानमा आएर प्रशिक्षण गर्न पाउँदा टिमको मनोवल उच्च रहेको बताए । सुविधा सम्पन्न मैदानमा आएर खेलाडीले प्रशिक्षण गर्न पाँउदा टिमको प्रर्दशनमा सुधार आउने उनको भनाई छ ।